राजनीति

सरकारको ६ महिनाको हिसाब बोकेर रास्वपा हरेक पालिकामा पुग्‍ने

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज २० गतेदेखि देशभरका पालिकामा पुग्ने अभियान घोषणा गरेको छ। तर, पार्टीका अनुसार यो अभियानलाई केवल चुनावी तयारीका रूपमा मात्रै नलिई सरकार गठन भएयताका करिब ६ महिनाका काम, नीतिगत पहल र आगामी योजनाबारे नागरिकसँग संवाद गर्ने अवसरका रूपमा पनि अघि बढाइनेछ।

रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ। अभियानमार्फत स्थानीय नागरिकका समस्या र अपेक्षा सुन्नुका साथै सरकार र संसदबाट भएका कामबारे जानकारी गराउने तयारी छ।

पार्टीका सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाको अभियानमा नागरिकका कुरा सुन्ने मात्र होइन, पार्टीले गरेका काम र आगामी योजनाबारे आफ्नो धारणा राख्ने पक्षलाई पनि प्राथमिकता दिइनेछ।

अभियानको अर्को प्रमुख विषय आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया रहनेछ। रास्वपाले स्थानीय नेतृत्वका लागि सक्षम र नेतृत्व लिन तयार व्यक्तिलाई कसरी छनोट गर्ने भन्नेबारे नागरिकलाई जानकारी गराउने बताएको छ।

पार्टीले यसअघि सार्वजनिक गरेको उम्मेदवार छनोटको अवधारणाअन्तर्गत ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रियामार्फत उम्मेदवार अघि बढाउने योजना राखेको छ।

यसरी हेर्दा रास्वपाको आगामी पालिका अभियानमा दुईवटा सन्देश एकसाथ जोडिने देखिन्छन्—स्थानीय चुनावका लागि संगठन र उम्मेदवारको तयारी तथा सत्तामा पुगेपछि भएका कामको जनस्तरमा जानकारी।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रास्वपाले संघीय सरकारका कामलाई स्थानीय तहसम्म पुर्‍याउने र स्थानीय नेतृत्व चयनको आफ्नो प्रक्रियाबारे नागरिकलाई बुझाउने रणनीति अघि सारेको हो।

प्रकाशित: १४ आश्विन २०८३ १४:४२ बुधबार