विपन्न उपचार सहायता स्वास्थ्य बिमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सामाजिक सञ्जालमा पोस्ट गरी प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन्।
मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बिमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्वप्रतिबद्धताअनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं।’
यसअघि आठवटा जटिल रोगका बिरामीका हकमा स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सहयोग दोब्बर गर्ने निर्णय कार्यान्वयन गर्दा उपचार सहुलियत एकीकृत रूपमा गर्दा स्वास्थ्य बिमामार्फत पाउने सुविधा वृद्धि हुने बताएका छन्।
‘आम नागरिकको स्वास्थ्योपचार पहुँच विस्तार तथा सेवा अभिवृद्धिमा हामी निरन्तर प्रयत्नशील छौं । यस व्यवस्थाले नागरिकलाई स्वास्थ्योपचारमा थप सहजता प्राप्त हुने हाम्रो विश्वास छ’, उनले भने।
त्यसैगरी आफू बसेकै स्थानमार्फत स्वास्थ्य बिमाको प्रथम सेवा लिन पाउने व्यवस्था भएको छ। यसका साथै स्वास्थ्य बिमामा आबद्ध भएको तीन महिनापछि सेवा पाउने व्यवस्था परिवर्तन गरेर एक महिनाभित्रै प्राप्त गर्न सकिने बनाइएको छ।
हरेक स्थानीय तहमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुका लागि समेत नीतिगत निर्णय गरेका मन्त्री पौडेलले घोषणा गरेअनुसारका नीतिगत सुधार निरन्तर जारी राखेका छन्।
स्वास्थ्य बिमा कार्यक्रमको सबै बक्यौता चालु आर्थिक वर्षमा शून्यमा झार्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ। यसले स्वास्थ्य बिमाको भुक्तानीमा देखिएको कठिनाइसमेत समाधान हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
सरकारी सुविधा एकीकृत रूपमा स्वास्थ्य बिमामा थपिँदा यसले कार्यक्रमको आम्दानीसमेत वृद्धि हुँदा सेवा दिन थप सहजता हुने स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए।
प्रकाशित: ७ श्रावण २०८२ २१:५८ बुधबार