राजनीति

पशुपतिनाथको कुरा गरेका प्रधानमन्त्रीलाई ओलीको प्रश्न : धर्मान्तरणबारे सरकारको धारणा के छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपालमा भइरहेको भनिएको धर्मान्तरणका गतिविधिबारे सरकारको धारणा स्पष्ट गर्न माग गरेकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको जलवायु संकटबारे राखेको प्रस्तुतिको प्रशंसा गरिन्।

प्रधानमन्त्रीले ‘भगवान् पशुपतिनाथले विश्वको रक्षा गरून् र विश्व बुद्धको मार्गमा अघि बढ्न सकोस्’ भनेकामा गौरव लागेको बताइन्।

उनले नेपालमा विभिन्न मुलुकबाट आएर धर्मान्तरणका गतिविधि भइरहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाइन्। उनले भनिन्, ‘विश्वका अनगिन्ती पश्चिमा मुलुकहरूले बुद्धको मार्ग ठीक भएन भन्दै यही मुलुकमा आएर खुलमखुल्ला धर्मान्तरण गराउँदै मिसनरीको मार्गमा हिँड्नुपर्छ भन्दै गर्दा राज्य कुन मार्गमा उभिएको छ?’

दबाब, प्रलोभन तथा गैरकानुनी माध्यमबाट धर्मान्तरण गराउने गतिविधिलाई सरकारले कुन रूपमा हेरेको छ भन्ने विषयमा स्पष्ट पार्न उनले सरकारसँग माग गरिन्।

यस्तै, सांसद ओलीले धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन्। यस्तै अवस्था कायम रहे भविष्यमा सनातन धर्मावलम्बीहरूले पशुपतिनाथको संरक्षणका लागि संसद्मै गुहार माग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

प्रकाशित: १२ आश्विन २०८३ १३:०२ सोमबार