राजनीति

प्रधानमन्त्रीबाटै पुष्टि भो संसद् पुनर्स्थापनाको औचित्यता: महेश बर्तौला

विघटित प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकले नै संसद् पुनर्स्थापनाको मागको संवैधानिक, कानुनी तथा व्यावहारिक औचित्यता पुष्टि गरेको बताएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न बैठकमा आफू पनि नेकपा एमालेको तर्फबाट सहभागी भएको उल्लेख गर्दै बर्तौलाले निर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्र बाँकी रहँदा सरकारको प्रस्तावले फागुन २१ गते निर्वाचन नहुने कुरा औपचारिक रूपमा स्वीकार गरेको दाबी गरे।

उनका अनुसार राजनीतिक दल, नागरिक समाज र निर्वाचन आयोगसमेत सहभागी बैठकमा प्रस्तुत सरकारी प्रस्तावले निर्धारित मितिमा निर्वाचन गराउन नसकिने स्पष्ट संकेत दिएको छ। यसले मुलुकमा विद्यमान जटिल राजनीतिक अवस्थाको संवैधानिक निकासका लागि तत्काल प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको कुरा थप सुदृढ भएको उनले बताए।

‘यो केवल कानुनी आवश्यकता मात्र होइन, राष्ट्रिय सान्दर्भिकता र व्यावहारिक आवश्यकता पनि हो,’ बर्तौलाले भने, ‘सरकारकै प्रस्तावले संसद् पुनर्स्थापनाको माग सही रहेको पुष्टि गरेको छ।’

प्रमुख सचेतक बर्तौलाले निर्वाचन प्रक्रियालाई खेलसँग तुलना गर्दै नियम सुरु भइसकेपछि परिवर्तन गर्न नमिल्ने तर्क पनि अघि सारे। ‘खेल सुरु भइसकेपछि ह्विसेल बजिसकेको अवस्थामा खेलाडीको अनुहार हेर्दै नियम फेरबदल गर्न सकिँदैन,’ उनले भने, ‘त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागि होइन र हुन सक्दैन।’

प्रकाशित: ७ पुस २०८२ १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App