राजनीति

सरकार सञ्चालन गर्ने शक्ति नै कमजोर भयो : पूर्वप्रदेश प्रमुख प्यासी

नेकपा एमालेका नेता तथा कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वर्तमान सरकारको कार्यशैली कमजोर रहेको टिप्पणी गरेका छन्। 

नेकपा एमाले वडा कमिटी पोखरा–१६ ले चाडपर्वको अवसरमा शनिबार बाटुलेचौरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै प्यासीले संख्यात्मक रूपमा प्रधानमन्त्री बलियो भए पनि सरकार सञ्चालन गर्ने कार्यशैली कमजोर रहेको बताएका हुन्। 

सरकारकै कारण देशमा चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै उनले जनताले यस्तो अवस्था टुलुटुलु हेरेर बस्न नसक्ने बताए। उनले राष्ट्रप्रति उत्तरदायी भएर राजनीति गर्न राजनीतिक दलहरूलाई आग्रह गरे। 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य राजीव पहारीले लोकप्रियताका नाममा वर्तमान सरकारले देशलाई सखाप पार्न लागेको आरोप लगाए। सुकुम्बासी, साना व्यवसायी, व्यापारी, न्यायिक क्षेत्र र पत्रकारमाथिको धरपकडले मुलुक सही दिशामा अघि नबढेको उनको भनाइ थियो। 

एमाले केन्द्रीय सदस्य प्रभा कोइरालाले अल्गोरिदममार्फत समाज विभाजन गर्ने प्रयास भइरहेको भन्दै यसप्रति सचेत रहन आग्रह गरिन्। 

कार्यक्रममा एमाले नेता दामोदर वैरागी, चुडामणि जङ्गली, प्रदेश कमिटी सदस्य जानुका अधिकारी तथा नेपाली कांग्रेसका वडा इकाइ सभापति होमबहादुर बानियाँलगायतले चाडपर्वले सामाजिक एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताए। 

प्रकाशित: २१ कार्तिक २०८३ १५:२२ शनिबार