नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले नेकपा (एमाले) का पूर्वनेता भीम रावल लगायतका नेताहरू पार्टी एकता प्रक्रियामा सामेल हुने सम्भावना अन्तिम चरणमा पुगेको बताएका छन्।
मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले रावलसँगको वार्ता लगभग टुंगोमा पुगेको र भोलि हुने एकता घोषणा कार्यक्रममा उनी पनि सहभागी हुनसक्ने संकेत गरेका हुन्।
‘कमरेड भीम रावलसँग वार्तामा थियौं हामी,’ दाहालले भने, ‘मलाई लाग्छ भोलिको एकता घोषणामा उहाँ पनि आउने सम्भावना करिब-करिब अन्त्यतिर पुग्दैछ।’
उनले रावल जस्ता नेताहरू केपी ओलीको अहंकार र दम्भका विरुद्ध देशभक्तिपूर्ण आन्दोलनका लागि एक्लै आवाज उठाउँदै आएको भन्दै प्रशंसा गरे।
‘केपी ओलीको अहंकार र दम्भका विरुद्ध, देशभक्तिपूर्ण आन्दोलनको निम्ति एक्लै पनि आवाज उठाउने उहाँहरू जस्तो कमरेड जोडिँदा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा एउटा सकारात्मक ऊर्जा प्राप्त हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने।
दाहालले एकताको यो प्रक्रियामा जनार्दन शर्मा, घनश्याम भुसाल, झलनाथ खनाल लगायतका नेताहरूसँग पनि निरन्तर छलफल र वार्ता चलिरहेको जानकारी दिए।
‘हिजो रातभरि जस्तै हामी छलफलमै छौँ। कहिले हाम्रै सहयोद्धा कमरेड जनार्दन शर्मा ‘प्रभाकर’ सँग, कहिले घनश्याम भुसालसँग, कहिले झलनाथ खनालसँग वार्ता चलि नै राखेको छ,’ उनले थपे।
अध्यक्ष दाहालले पछिल्लो समय राजनीतिक दलहरूलाई सिध्याउने र कमजोर बनाउने ठूलो डिजाइन भइरहेको आरोप लगाए।
उनले भदौ २४ गतेको घटनापछि दलहरूलाई समाप्त पार्न र चुनावमा समेत जान नदिन षड्यन्त्र भएको दाबी गरे।
‘पार्टीहरू सिध्याउने, २४ गतेको विध्वंस पछाडि, विदेशी कयौं शक्तिहरू छन्। उनीहरूले सिध्याउन खोजेको पार्टीहरूलाई हो,’ उनले भने, ‘सब बिगारेको पार्टीहरूले हो, त्यसमा पनि मुख्य पार्टीहरूले हो भन्ने कुरालाई यसरी प्रचार गर्ने खोजियो कि एकथरि मानिसहरूलाई लाग्यो कि हो पार्टीहरूले नै बिगारेका हुन्।’
उनले लोकतन्त्रको आधार नै राजनीतिक दल भएको बताउँदै दलहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन नदिने बताए।
उनले भोलिको एकता घोषणासँगै देश-विदेशमा सकारात्मक तरंग पैदा भइसकेको र अझै धेरै सकारात्मक कुराहरू आउने विश्वास व्यक्त गरे।
प्रकाशित: १८ कार्तिक २०८२ १८:५३ मंगलबार