राजनीति

दल त्याग गरेका जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ।

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै पार्टी त्याग गरेको भन्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी गराएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको थियो।

पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराइएको सूचनामा उल्लेख छ। आयोगले मंसिर २ गते उनीहरू निर्वाचित भएको पालिका तथा तहको पद स्वतः रिक्त हुने निर्णय गरेको हो।

पद रिक्त हुनेमा सिराहाका पाँच, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना जनप्रतिनिधि रहेका छन्।

सिराहाको लहान नगरपालिकाकी उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ।

त्यस्तै, पर्साको कालिकामाई गाउँपालिकाका वडा नम्बर १ का लालबाबु राउत बरै र वडा नम्बर ३ का संजय कुमार पटेलको पद पनि रिक्त भएको छ।

खोटाङमा जिल्ला समन्वय समितिका नबहादुर राई, केपिलासगढी गाउँपालिकाका गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मुगाधन राई, कल्पना राई, गिता विक, रामधन राई, शहर मनी राई र विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ।

त्यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका छत्रबहादुर, इलामको माङसेबुङ गाउँपालिकाका विनोद कुमार नेम्वाङ र सन्दकपुर गाउँपालिकाका ढाल बहादुर गुरुङको पद रिक्त भएको आयोगले जनाएको छ।

सुनसरीको कोशी गाउँपालिकाका वडा नम्बर ६ का एक वडा अध्यक्षको नाम तथा निर्वाचित पदको विवरण अस्पष्ट छ।

प्रकाशित: ३ मंसिर २०८३ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App