नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले इतिहासमा खेलेको आफ्नो पार्टीको भूमिकालाई कमजोर देखाउन खोजिए पनि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुने दाबी गरेका छन्।
राष्ट्रिय जागरण अभियानका सन्दर्भमा बोल्दै दाहालले जनयुद्ध सुरु गर्दा ६० जना मात्रै रहेको र क्रमशः जनसमर्थन बढ्दै गएर देश गणतन्त्रमा प्रवेश गरेको बताए। उनले कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै आलोचनाको वास्ता नगरी लक्ष्यमा निरन्तर अघि बढ्नुपर्ने बताए।
‘तथाकथित आलोचनालाई तिमी वास्ता नगर, तिमी आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ, सफलता तिमीले प्राप्त गर्नेछौ,’ मार्क्सको भनाइ उद्धृत गर्दै उनले भने।
उनले जनताको बीचमा जाने, उनीहरूका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने विश्वासका साथ आफूहरू अघि बढेको बताए। अन्ततः जनताले साथ दिने विश्वासले राजनीतिक यात्रा अगाडि बढाएको उनले उल्लेख गरे।
दाहालले जनयुद्ध सुरु गर्दा ६० जना रहेको, केही समयपछि त्यो संख्या ६ हजार, त्यसपछि ६ लाख र क्रमशः ६० लाख पुगेको दाबी गरे। यही राजनीतिक संघर्षको परिणामस्वरूप नेपाल गणतन्त्रमा पुगेको उनको भनाइ थियो।
‘जम्मा ६० जना थियौँ हामी त्यतिबेला जनयुद्ध सुरु गर्ने बेलामा । त्यो केही समयपछि ६ हजार भयो, त्यो ६ हजार केही समयपछि ६ लाख भयो, त्यो ६ लाख केही समयपछि ६० लाख भयो । त्यसपछि नेपालै गणतन्त्रमा पुग्यो,’ उनले भने।
उनले अहिले आफ्नो पार्टी र त्यसले इतिहासमा खेलेको भूमिकालाई कम आँक्ने प्रयास भइरहेको टिप्पणी गरे। विचारको महत्व र इतिहासमा पार्टीले खेलेको भूमिकालाई पूरै निषेध गर्न खोजिएको उनको आरोप थियो।
‘आज पनि हामीलाई खुब हेपेर भन्ने गरेका छन् । विचारको महत्व, त्यो इतिहासको भूमिका, इतिहासमा खेलेको भूमिकालाई पुरै माइनस गर्न खोजिएको छ,’ उनले भने, ‘हेर्नुहोला, केही समयपछि देशमा फेरि एउटा नयाँ परिस्थिति बन्नेछ।’
प्रकाशित: ७ कार्तिक २०८३ १७:३२ शनिबार