राजनीति

अग्रगामी मोर्चामा सहभागी दल अर्को निर्वाचनसम्म सरकारमा नजाने

विभिन्न राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म आफ्ना कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

मंगलबार बसेको मोर्चाको बैठकले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदलाई मन्त्री बनाउने निर्णयप्रति समेत आपत्ति जनाएको छ। मोर्चाले जसपा नेपालको निर्देशनविपरीत सांसदलाई मन्त्री बनाउने निर्णय तत्काल सच्याउन माग गरेको छ।

त्यस्तै, लुम्बिनी प्रदेशसभामा जसपा नेपालका सांसदहरूलाई सरकारको पक्षमा मतदान गराउने कार्यप्रति पनि मोर्चाले विरोध जनाएको छ।

मोर्चाले यस्तो कार्य संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मान्यताविपरीत रहेको भन्दै आपत्ति जनाएको हो। बैठकपछि जारी विज्ञप्तिमा उक्त कदमलाई अनैतिक र असंसदीय भन्दै तत्काल सच्याउन आग्रह गरिएको छ।

बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि दल प्रदेश सरकारमा सहभागी नहुने निर्णय सर्वसम्मतिले गरेको छ।

अग्रगामी मोर्चामा जसपा नेपाल, आम जनता पार्टी (आजपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलहरू आबद्ध छन्।

प्रकाशित: २ भाद्र २०८३ १८:०८ मंगलबार