राजनीति

उस्तै कट्टर छ ‘नो भोट’ को नीति

बाघको आक्रमणको भय। जंगली जनावरबाट बालीनाली सखाप। वर्षौंसम्म जंगली जनावरबाट खेप्नुपरेको यो सास्तीको आक्रोश दाङको विकट क्षेत्र मलैबासीले गत प्रतिनिधिसभा निर्वाचनमा पोखिदिए। आफूहरूलाई जंगली जनावरबाट सुरक्षित राखिदिनुपर्ने माग राख्दै आएका उनीहरूले चुनावमा भोटै बहिस्कार गरिदिए।

स्थानीय नेताहरूले मतदानका लागि निकै आग्रह गरे तर भोट बहिस्कार गर्ने सिंगो बस्तीको सामूहिक निर्णयबाट उनीहरू पछि हटेनन्। फलतः मतदानका लागि पुगेको निर्वाचन टोली रित्तो मतपेटिका बोकेर फिर्ता हुनुपर्‍यो। उनका अनुसार बबई– १ मा रहेको जनता आवासीय मावि जिला र बबई– ७ मा रहेको देउती मावि मलैमा मतदान केन्द्र तोकिएका थिए। जनता आवासीय मावि मतदान केन्द्रका ६ सय ८२ र देउती मावि मतदान केन्द्रका ५ सय ८५ मतदाता सबैले भोट बहिस्कारकोे निर्णय लिएका थिए।

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका– १, ७ र दंगिशरण गाउँपालिका– १ का बासिन्दा आफूहरूको बस्ती स्थानान्तरण चाहन्छन्। सोही माग सुनुवाइका लागि लामो समयसम्म दौडधुप गरेका उनीहरू जंगली जनावरको असुरक्षाकै बिच बाँचिरहनुपर्‍यो। उनीहरू आफूहरूको बस्ती स्थानान्तरणका लागि राज्यसँग गुहार माग्न पटकपटक काठमाडौंसम्म पुगेको बताउँछन्।  

‘जंगली जनावरबाट हामीलाई बचाइदिनुस् भनेर लाख बिन्ती गर्दा पनि हाम्रो आवाजलाई कसैले सुनेन’, त्यहाँ गठित फुर्केसल्ली मलै मध्यवर्ती क्षेत्र समितिका अध्यक्ष अमर बुढा भन्छन्, ‘अनि सिंगो समाजले नै मतदान नगर्ने भनेर निर्णय गर्‍यो, यहाँका कसैले पनि भोट नहालेको अवस्था बन्यो।’

गत प्रतिनिधिसभा निर्वाचन बहिस्कार गरेका उनीहरूको मन अहिले पनि बदलिएको छैन। कारणः आफूहरूको माग सुनुवाइका लागि अहिलेसम्म कुनै संकेतसम्म पाएका छैनन्। न उनीहरूको माग सम्बोधन गर्ने भन्दै विश्वास दिलाउन उनीहरूको बस्तीमा कुनै नेताको पाइला नै परेको छ, न त मतदान बहिस्कार गरेका उनीहरूको मन बदल्न कसैले फकाएकै छ। मत बहिस्कार गरेका उनीहरूले अबका निर्वाचनमा पनि उही रूपमै प्रस्तुत हुनुपर्ने अवस्था आउने बुझेका छन्। ‘चुनावमा हामीले भोट हालेनौं, चुनाव जितेका मान्टे पनि अहिलेसम्म यहाँ आएका छैनन्, न त अरु पार्टीका कोही आएका छन्’, बुढाले भने, ‘हामीलाई छुट्टै देशका नागरिकजस्तै व्यवहार गरिएको छ, यो अवस्था कायमै रह्यो भने हामीले मन बदल्ने कुरै हुँदैन, हरेक निर्वाचनमा हामी मत हाल्दैनौं।’

बुढाले यो आवाज आफ्नो मात्रै नभई सिंगो मध्यवर्ती क्षेत्रका बासिन्दाको धारणा रहेको सुनाए। अहिले पनि त्यहाँका बासिन्दा आफ्नो सुरक्षाका लागि छलफल, सरसल्लाह गर्न बैठक बस्छन्। बस्ती स्थानान्तरणका लागि पहल थाल्ने निर्णय लिन्छन्।

निर्णय कार्यान्वयनका लागि दौडधुप पनि थाल्छन्, तर सुुनवाइको सम्भावना शून्यप्रायः रहन्छ। ‘हामी चुनावपछाडि पनि काठमाडौं गएर बनमन्त्रीलाई भेटिसक्यौं’, उनले भने, ‘तर पहल थाल्छौं मात्रै भन्नुभयो। यस्तो पहल थाल्छौं भन्न थालेको त धेरै भइसक्यो नि। हाम्रा माग सुनुवाइ भएन भने यहाँका सबै बासिन्दाले हरेक चुनावमा भोट बहिस्कार गर्ने भन्ने सामूहिक निर्णय नै गरेको अवस्था छ।’

स्थानीयका अनुसार त्यहाँ बँदेल तथा बाँदरले बालीनाली खाएर सखाप पारिदिने गरेका छन्। यसैगरी त्यहाँ बाघको समेत जगजगी छ। ‘गोठमै आएर बाघले पटकपटक खसी, बाख्रा, गाई, गोरु खाइदिएको छ। मान्छेलाई समेत बाघबाट जोगिन गाह्रो छ। हाम्रो छिमेकी गाउँ घुइयाबारीमा एकजनालाई बाघले आक्रमण गरेर ज्यानै गइसक्यो’, पुरन्धारा मध्यवर्ती क्षेत्र समितिका अध्यक्ष डम्मर घर्तीले भने, ‘बारीमा लगाएको बालीनाली बँदेल, बाँदरलगायतका वन्यजन्तुले सखाप पारिदिने गरेका छन्, यस्तो सकसमा रहेका हाम्रो उचित स्थानान्तरणको माग गर्दै आएका छौं, तर पनि राज्यले हाम्रो माग सुनुवाइ गरेन। हामी यसरी असुरक्षित हुँदा पनि राज्यले हाम्रो सुरक्षाका बारेमा बेवास्ता गरेपछि मतदानमा सहभागी किन हुने भन्ने हामी सबैको सामूहिक निर्णयका आधारमा चुनाव बहिस्कार गरेका हौं।’

पुरन्धारा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने कुनै पनि नागरिकको मन अहिले पनि बदलिएको छैन। माग पूरा नभए आगामी स्थानीय तह निर्वाचनमा मत बहिस्कार गरेरै बस्ने लिखित निर्णयका साथ उनीहरू बसेका छन्। ‘बस्ती स्थानान्तरणको माग पूरा गरिदियो भने मात्रै हामीले भोट हाल्ने हो नत्र भोट बहिस्कार गरेरै बस्ने भन्ने गाउँलेको सामूहिक निर्णय छ’, उनले भने, ‘तर अहिलेसम्मको अवस्था हेर्ने हो भने राज्यले हामीलाई जंगली जनावरबाट बचाउला भन्ने लाग्दैन।’

यो क्षेत्रका बासिन्दासमक्ष कुनै पनि नेताले अहिलेसम्म आफ्नोे उपस्थिति देखाएका छैनन्। न चुनाव जितेका प्रतिनिधिले यो बस्तीमा पाइला टेकेका छन्, न त अन्य कुनै राजनीतिक दलका नेताहरूले नै यो बस्तीको गाम्भीर्यप्रति चासो देखाएका छन्। ‘चुनावपछि कुनै पनि पार्टीका नेताले हाम्रो गाउँमा पाइला टेकेका छैनन्’, उनले भने, ‘हामीलाई त वास्तवमा छुट्टै देशका नागरिकको जस्तो व्यवहार गरिएको छ।’

प्रकाशित: ७ कार्तिक २०८३ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App