राजनीति

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर: आफ्नै सांसदको अरुचि, रास्वपाको कोटा नै रिक्त

सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि १५ जनाको कोटा निर्धारण गरिए पनि हालसम्म ११ जना सांसदले मात्र प्रश्न दर्ता गराएका छन्।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना लागि छुट्याइएको चार वटा कोटामा नाम नपठाएपछि सूची अपूरो भएको हो।

प्रतिनिधि सभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समयसीमा दिएका थिए।

सभामुखको कार्यतालिका अनुसार संसदमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये रास्वपालाई ७, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई २, नेकपा एमालेलाई २, नेपाली कम्युनिस्ट पार्टीलाई २ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई १/१ वटा प्रश्न सोध्ने कोटा बाँडफाँट गरिएको थियो।

रास्वपाले पाएको ७ वटा कोटालगायत अन्य दलहरूले आ-आफ्नो कोटा पूरा गरे पनि रास्वपाबाट भने केवल ३ जना सांसदले मात्र प्रश्न दर्ता गराएका छन्।

रास्वपाबाट प्रश्न दर्ता गराउनेमा सांसद अमरेशकुमार सिंह, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकी रहेका छन्। बाँकी चार सांसदको नाम भने पार्टीले पठाएको छैन। अन्य दलहरूबाट भने सबै प्रश्नकर्ता सांसदको टुङ्गो लागिसकेको संसद् सचिवालयले जनाएको छ।

जसअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरूङ तथा नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले नाम टिपाएका छन्।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न दर्ता गराउँदा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न सोध्ने सूचीमा नाम दर्ता गराएका छन्।

प्रकाशित: ८ भाद्र २०८३ १९:३५ सोमबार