राजनीति

पार्टी छोड्नेहरूको कदम नियोजित र षड्यन्त्रपूर्ण, इतिहासले दण्डित गर्नेछ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर पार्न मानिसहरू लागिपरेको बताएका छन्।

शुक्रबार धुम्बाराहीस्थित सूर्य इभेन्टमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी कमजोर पार्न षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका हुन्।

‘स्थापनाकालदेखि आजसम्म पनि षड्यन्त्रबाट हामी मुक्त हुन सकिराखेका छैनौँ’, उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अहिले पनि घेराबन्दीका प्रयासहरू भइराखेका छन्। यो सबै आक्रमण, यो सबै घेराबन्दीलाई चिरेर अगाडि बढ्नुको विकल्प हामीसँग छैन।’

यस्तै, उनले सिद्धान्त र विचारको नाम दिएर पार्टी छोड्नेहरूको कदम नियोजित र षड्यन्त्रपूर्ण रहेको बताए। इतिहासले यस्ता पात्रहरूलाई दण्डित गर्ने उनको भनाइ छ।

‘केही पार्टी विचारबाट विचलित भयो भनेर छोडेका छन्। यो राप्रपालाई कमजोर बनाउने एउटा नाटक मात्र हो’, उनले भने, ‘देशभर राजसंस्थाको पक्षमा अभूतपूर्व जनमत बनिरहेको बेला, आन्दोलनलाई बिचैमा तुहाउने र वातावरण बिगार्ने काम उनीहरूले गरे।’

यस्तै, उनले विगतको नेतृत्व र कार्यशैलीबाट पाठ सिक्दै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताए। पार्टी फुटाउने र जुटाउने खेलभन्दा अबको बाटो नयाँ सोच र नयाँ कार्यशैलीको हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ५ असार २०८३ १४:०४ शुक्रबार