राजनीति

शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक : दाहाल

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बुद्ध जयन्ती, लुम्बिनी दिवस तथा उभौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज जारी गरेको शुभकामना सन्देशमा दाहालले बुद्धले प्रतिपादन गरेको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक रहेको बताएका हुन्। उनले विभेद, असमानता र अन्याय कायम रहँदासम्म न स्थायित्व न समृद्धि नै सम्भव हुने बताए। त्यसैले बुद्धका आदर्शहरूलाई केवल श्रद्धामा सीमित नराखी व्यवहारमा लागू गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ।

'बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। विभेद, असमानता र अन्याय कायम रहँदासम्म न स्थायित्व सम्भव छ, न समृद्धि नै। त्यसैले बुद्धका आदर्शहरूलाई केवल श्रद्धामा सीमित नराखी व्यवहारमा लागू गर्नु आजको आवश्यकता हो,' उनले भने।

सामाजिक न्याय, सांस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव रहेको उनले बताए। यी पर्वहरूले सबैमा शान्ति, सद्भाव र एकताको भावना अभिवृद्धिको प्रेरणा देओस् भन्दै उनले कामना गरेका छन्।

प्रकाशित: १८ वैशाख २०८३ ११:०२ शुक्रबार