नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने बताएका छन्।
आफूहरूलाई महाधिवेशनमा निमन्त्रणा नगरेको दाबी गर्दै महतले यस्तो बताएका हुन्। महतले भने, 'देउवा महाधिवेशनमा सहभागी नहुने र हामीहरूलाई बोलाएको भनेर संस्थापन पक्षले मिडियाबाजी मात्रै गरेका हुन्, हामीलाई बोलाएकै छैनन्।'
गगन थापा नेतृत्वको कांग्रेसले आजदेखि काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले देउवालाई महाधिवेशन उद्घाटनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आग्रह गरेको बताउँदै आएको छ।
महतले देउवा नेतृत्वमै १५औँ महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन्। कांग्रेसभित्र विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको वैधानिकता र नियमित महाधिवेशनको प्रक्रियालाई लिएर विवाद जारी छ। उक्त विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा रहेको छ।
प्रकाशित: १८ आश्विन २०८३ ०९:१९ आइतबार