नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सानातिना विवाद देखिए पनि पार्टी नफुट्ने भन्दै कार्यकर्तालाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
साथै, देश बाढीपहिरोको विपद् र शोकमा रहेकाले आगामी १८ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशन अत्यन्तै सादगी र तडकभडकविहीन रूपमा सम्पन्न गरिने कांग्रेसले जनाएको छ।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति शर्माले राजनीतिक जीवनमा सामान्य विवाद आउनु अस्वाभाविक नभएको बताए।
‘मान्छेको स्वास्थ्यमा सामान्य समस्या आएजस्तै राजनीतिमा पनि कहिलेकाहीँ विवाद हुन्छन्, तर यसकै कारण कोही पनि अलमलमा पर्नु पर्दैन,’ उनले भने, ‘१८ गते सुरु हुने महाधिवेशनले सबैलाई समेटेर लैजान्छ। चुनाव हार्दा असन्तुष्टि भए पनि अन्ततः सबै एकै ठाउँमा मिल्छन्।’
यसैबीच, पार्टीले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुँदा जिल्लाबाट आउने प्रतिनिधिहरूलाई असहज भएकाले १६ गते तय भएको उद्घाटन सत्र दुई दिन ढिला गरी १८ गते सारिएको पार्टीले बताएको छ।
यसपटकको महाधिवेशनलाई प्रविधिमैत्री बनाइएको छ। प्रतिनिधिहरूको परिचयपत्रमा क्युआर कोड राखिएको छ। यसलाई स्क्यान गरेपछि आवास, भोजन र बन्दसत्रका सम्पूर्ण विवरण सहजै मोबाइलमै प्राप्त गर्न सकिनेछ।
महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुनेछ भने बन्दसत्रका लागि भृकुटीमण्डपमा साढे सात हजारभन्दा बढी क्षमताका तीनवटा ठूला हलको व्यवस्था गरिएको छ।
विगतका महाधिवेशनभन्दा यसपटकको महाधिवेशन खर्च र प्रचारप्रसारको हिसाबले निकै भिन्न हुनेछ। देश बाढीपहिरोको ठूलो विपद्बाट गुज्रिरहेको र जनता शोकमग्न रहेको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि प्रकारका भड्किला झाँकी, तस्बिर र सजावट नगरिने पार्टीले जनाएको छ।
महाधिवेशनलाई अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न पार्टी सभापतिको संयोजकत्वमा १५ वटा विभिन्न समितिहरू गठन गरी काम तीव्र पारिएको छ। प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि हरेक प्रदेशबाट एक-एक जना संयोजक तोकिएको छ।
प्रकाशित: १७ आश्विन २०८३ १६:३० शनिबार



