सत्तारुढ दुई तराई मधेस केन्द्रित दलले मन्त्री फेर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेको २ महिना भइसकेको छ । तर ती चिठी कार्यान्वयन हुन नसकि प्रधानमन्त्रीको टेबुलमा थन्किएर बसेका छन ।
प्रधानमन्त्रीले भने मन्त्रीमण्डल पुनर्गठन गर्दा एकै पटक लोसपा र जसपाको सिफारिश कार्यान्वयन गर्ने भन्दै आलटाल गरिरहेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गत साउनमै मन्त्री फेर्न प्रधानमन्त्रीलाई चिठी पठाएको थियो ।
यसैगरी अर्को मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)ले साउनमा मन्त्री फेर्न प्रधानमन्त्रीलाई चिठी पठाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले साउनको पहिलो साता प्रधानमन्त्री ओलीलाई भेटेरै पार्टीको चिठी बुझाएका थिए ।
पार्टीको लेटर हेडमै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीलाई फिर्ता बोलाई उनको ठाउमा सर्वेन्द्रनाथ शुक्लाई मन्त्रीमा नियुक्त गर्न आग्रह गरिएको छ । चिठी पार्टी अध्यक्ष ठाकुरले आफै हस्ताक्षर गरेका छन् ।
‘मन्त्री फेर्न पार्टीले प्रधानमन्त्रीलाई सिफारिश गरेको दुई महिना भइसक्यो । प्रधानमन्त्री ज्युले मन्त्रीमण्डल पुनगर्ठन गर्दा एकै पटक श्रम मन्त्री फेर्छौ भन्नु भएको छ’ लोसपाका महासचिव मनिष मिश्रले भने,‘प्रधानमन्त्री ज्यूले पार्टीले गरेको सिफारिशलाई चाँडो भन्दा चाँडो कार्यान्वयन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’
लोसपा स्रोतका अनुसार २०७९को प्रतिनिधि सभाको चुनाव पछि पहिलो कार्यकाल भण्डारी र दोस्रो कार्याकाल शुक्ला सरकारमा जाने सहमति गरिएको थियो । तर भण्डारी दुई पटक मन्त्रीमा सिफारिश भइसके । पुष्पकमल दाहाल नेतृत्व सरकारमा पनि भण्डारी मन्त्री भएका थिए ।
दुई पटक लगातार दोहोर्याएर भण्डारीलाई मन्त्रीमा सिफारिश गरे पछि शुक्ल ठाकुरसँग रुष्ट भएका थिए । त्यतिबेला उनले पार्टी नै फुटाउन खोजेका थिए । ठाकुरले सम्झाइ बुझाई गरे पछि पार्टी फुटाउने काममा शुक्ल पछि हटेका थिए । त्यसैले शुक्ललाई जति सक्दो चाँडो मन्त्री गराउने बाध्यता ठाकुरलाई छ । त्यसैले लोसपाको चिठ्ठी कार्यान्वयन हुन नसक्दा ठाकुर चिन्तित भएको लोसपाा एक नेताले भने ।
लोसपासँग हाल ४ जना सांसद छन् । गत भदौ ९ गते यो पार्टी फुटेको ५ वर्ष पूरा भएको छ । पाँच वर्षसम्म पनि लोसपाले महाधिवेशन गर्न सकेको छैन । विशेष परिस्थिति सिर्जना भएमा ६ महिना म्याद थप गर्न संविधानले छुट दिएको छ । अहिले लोसपाले संविधानले दिएको छुटलाई उपयोग गरीरहेको छ । अबको ६ महिना भित्र महाधिवेशन गर्ने लोसपाका नेताहरुले बताएका छन् ।
लोसपा गठन भएको ५ वर्षमै दुई पटक पार्टी फुटिसकेको छ । सुरुमा राजेन्द्र महतो पार्टीबाट अलग भए भने अनिल झा पनि पार्टीबाट अलग भएका छन ।
यता जसपाले खानेपानी मन्त्री प्रदीप यादवको ठाउँमा वीरेन्द्र महतो र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडिको ठाउँमा रञ्जु ठाकुरलाई मन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी पठाएको छ ।
जसपाका अध्यक्ष अशोक राइले गत साउनमै प्रधानमन्त्रीलाइ चिठी पठाएका थिए । ‘साउन महिनामै मन्त्री फेर्न आग्रह गर्दै पार्टीले प्रधानमन्त्रीलाई चिठी पठाएको हो । पार्टीको सिफारिश जति सक्दो चाँडो कार्यान्वयन हुनेछ भन्ने हाम्रो विश्वास छ’ जसपाका सांसद महतोले भने ।
प्रकाशित: १० भाद्र २०८२ २०:४७ मंगलबार