राजनीति

‘नेतृत्व छाड’ भन्नेलाई सिकेको जबाफ: पार्टी छाड्ने सही मौका छ, सदुपयोग गर्नुस्

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूलाई पार्टी नेतृत्व छाड्न दबाब दिने नेताहरूलाई पार्टी नै छाड्न सुझाएका छन्। बुधबार फेसबुकमा लामो स्टाटस राख्दै राउतले ‘पार्टी छाड्ने सही मौका यही हो’भन्दै सदुपयोग गर्न सुझाएका छन्। 

‘यही सही मौका हो, जनमत पार्टी छोड्नलाई। मौकाको सदुपयोग गर्नुहोस्,’ राउतले लेखेका छन्, ‘यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको  छ,भने यो भन्दा राम्रो मौका आउनेछैन।’  किनकि अहिले कुनै बहाना पनि नचाहिने राउतको दाबी छ। 

‘जेन–जी आन्दोलन छ, युवाहरूको राप ताप छ। त्यसैले यस्ता मित्रहरूसँग अनुरोध छ यही मौकाको फायदा उठाएर जनमत पार्टीलाई स्वच्छ, वफादार, इमानदार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिनुहोस्। हामी पनि आभारी रहनेछौँ,’ अध्यक्ष राउतले अगाडि लेखेका छन्.। 

यो मौकामा पार्टी छाड्नेसँग आफ्नो केही गुनासो नहुने पनि उनले लेखेका छन्। ‘हामी उल्टा पार्टीमा यहाँको योगदानको लागि सधैभरि कदर गरिरहनेछौं। राम्रो अवसर खोज्नु मानवीय स्वभाव हो, अन्यथा लिँदैनौँ,’ राउतले लेखेका छन्। 

यस्तै नेतृत्व परिवर्तन चैत्रमा महाधिवेशन हुने र जसलाई नेतृत्व लिन मन लागेको छ, त्यहीँ लिए हुने जबाफ पनि फर्काएका छन्। जनमत पार्टी जनताको मतबाट चल्ने दाबी गर्दै उनले बाहिरबाट नचल्ने पनि उल्लेख गरेका छन्। 

‘अहिले सबै पार्टीमा विभिन्न तोडफोडको अनेकौँ शृङ्खला चल्नेछ, जनताको पक्षमा सदैव खडा रहने जनमत पार्टीलाई सिध्याउन लाग्ने नै छन्,’ राउतले लेखेका छन्, ‘अनेकौँ षडयन्त्र र देखावटी विद्रोह हुने नै छ।’ 

यस्तै उनले राजीनामा दिँदा आधिकारिक हस्ताक्षर भएको राजीनामा पार्टीको इमेल वा पार्टी कार्यालयमा आएर दिन पनि आग्रह गरेका छन्। 

बुधबारै जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक पत्रमार्फत २४ घण्टाभित्र नेतृत्व छाड्न अध्यक्ष राउतलाई अल्टिमेटम दिएका थिए। 

प्रकाशित: १ आश्विन २०८२ १८:५३ बुधबार