नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले पार्टीभित्र संस्थागत पद्धतिभन्दा व्यक्तिको व्यक्तित्व हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले नेताको व्यक्तित्व अस्वाभाविक रूपमा ठूलो हुँदा पार्टीको अस्तित्व नै संकटमा पर्ने खतरा औँल्याएका हुन्।
एमालेको ऐतिहासिक पृष्ठभूमि कोट्याउँदै पाण्डेले विगतमा सामूहिक नेतृत्वलाई जोड दिइने गरेको स्मरण गरे।
‘मालेकालमा हामी ‘को नेता’ भनेर खुलाउँदैनथ्यौँ, नेताको नाम भन्नु हुँदैनथ्यो। किनभने नेताको व्यक्तित्व ठूलो भएपछि उसले पार्टीको व्यक्तित्वलाई कुल्चिन थाल्छ भन्ने हाम्रो बुझाइ थियो,’ पाण्डेले भने, ‘अहिले हाम्रो पार्टीमा त्यही समस्या देखिएको छ। नेताको व्यक्तित्व यति ठूलो बनाइयो कि पार्टीको संस्थागत व्यक्तित्व नै ओझेलमा पर्न थाल्यो।’
उपाध्यक्ष पाण्डेले पार्टीमा ‘नेताले जे भन्छन् त्यही ठीक’ र ‘नेता नै सर्वेसर्वा हुन्’ भन्ने भाष्य निर्माण हुनु लोकतान्त्रिक पद्धतिको लागि घातक रहेको बताए।
‘हामीले कार्यकर्तालाई नेता नै सबै थोक हो, उसले जे भन्छ त्यो ब्रह्मवाक्य हो भनेर दीक्षित गर्यौँ। यो प्रवृत्तिले पार्टीलाई जनताबाट टाढा पुर्यायो,’ उनले भने, ‘कमजोरी हुँदा पनि नेताको बचाउ गर्ने र उपलब्धि हुँदा नेताको मात्र एकल जस मान्ने परिपाटीले समीक्षा गर्ने बानी हरायो। भदौ २३ गतेको जेन-जी आन्दोलनको सुइँको नपाउनुको एउटा कारण यो पनि हो।’
महाधिवेशनको संघारमा रहेको एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलिरहँदा पाण्डेले व्यक्ति फेरिएर मात्र नहुने, प्रवृत्ति फेरिनुपर्नेमा जोड दिए।
‘आठौँ महाधिवेशनदेखि हामीले प्रतिस्पर्धाको राजनीति सुरु गर्यौँ। तर प्रतिस्पर्धा केवल पदका लागि मात्र भयो, विधिको लागि भएन,’ उनले भने, ‘अबको एमाले नेतामुखी होइन, नीतिमुखी र सामूहिक निर्णयमा चल्ने पार्टी बन्नुपर्छ। नत्र जतिसुकै महाधिवेशन गरे पनि जनताको विश्वास जित्न सकिँदैन।’
प्रकाशित: १७ मंसिर २०८२ २०:३९ बुधबार



