राजनीति

कांग्रेसमा अझै फुकेन गाँठो, बहुमतबाट निर्णय लिने संस्थापन पक्षको तयारी

नेपाली कांग्रेसको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि की पछि वा विशेष महाधिवेशन भन्नेमा अझै सहमति जुट्न सकेको छैन ।  

कांग्रेसभित्र महाधिवेशनको विषयले परेको गाँठो फुकाउन विभिन्न तहका नेताहरूले सहमतिको प्रयास गरेपनि साझा विन्दु अझै फेला परेको छैन । सहमतिका लागि नेताहरूले पछिल्लो एकसाता देखि गरेको प्रयास निरर्थक बन्न पुगेको हो ।

नेताहरू आआफ्नै अडानमा कायमै रहेका छन् । असोज २८गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अघिल्लो बिहीबार सदस्यहरूले बोल्ने क्रम सकिएको थियो ।  

त्यसपछि सहमतिका लागि भन्दै केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।तर, नेताहरू महाधिवेशनका विषयमा कुनै सहमतिमा अझै पुगेका छैनन् ।  

महाधिवेशनको विषय पेचिलो बन्दै गएका बेला संस्थापन पक्षका पूर्व उपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, गुरु बराल, गोविन्द भट्टराई, नैनसिंह महरसहित साठी बढि सदस्यहरूको बुधबारको भेलाले बैशाखमै नियमित महाधिवेशन गर्नुपर्ने अडान दोहोर्‍याएका हुन् ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने निष्कर्ष निकाल्दै उनीहरूले पार्टीले यस विषयमा निर्णय गर्न विलम्ब गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।  

तत्काल निर्वाचनमा भाग लिने निर्णय लिन नेतृत्वलाई आग्रह उनीहरूले बैशाखमा पार्टीको १५औं नियमित महाधिवेशन गर्न सहमति नजुटे बहुमतबाट भएपनि निर्णय लिनुपर्ने निष्कर्ष निकालेका छन् ।

भदौ २३ र २४ गतेको विद्रोहपछि संविधान क्षतविक्षत बनेको र प्रतिनिधिसभा असंबैधानिक ढंगबाट विघटन गरिएको भन्दै संस्थापन पक्षका नेताहरूले संविधानको रक्षा र निर्वाचनमार्फत संसद्को पुनःस्थापना नै पार्टीको अहिलेको मुल नीति हुनुपर्ने तर्क गरेका छन् । पार्टीको नेतृत्व परिर्वतन प्रक्रियासुरु भइसकेको र महाधिवेशनबाट नयाँ नेतृत्व आउने उनीहरूको दाबी छ ।

उता विशेष महाधिवेशन पक्षधरले अविलम्ब विशेष महाधिवेशनको मिति र स्थान माग गरेका छन् । उनीहरूले बुधबार पत्रकार सम्मेलन गर्दै अब नअलमलिन र नअलमलाउनु आग्रह गरेका छन् । पार्टी विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन बोलाउनुको विकल्प नभएको जनाउँदै कांग्रेस रुपान्तरणका लागि आफूहरूले केवल महाधिवेशनको कार्यतालिकामात्रै नखोजेको उनीहरूले दाबी गरेका छन् ।

पार्टीका दुई पक्षका नेताहरू आफ्नो अडानमा रहेका बेला नेता शेखर कोइरालाले भने पुस अन्तिममा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने तर्क गर्दै आएका छन् । र, त्यसले नै विशेष महाधिवेशन पक्षधरलाई पनि सम्बोधन गर्ने जनाउँदै उनले सहमतिका लागि नेताहरूसँगको छलफललाई तीब्र बनाएका छन् । सहमतिबाट बाहेक कोइराला विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । त्यसले पार्टीलाई विभाजनतर्फ लैजानसक्ने उनले चिन्ता व्यक्त गर्दै आएका छन् । पुस १६ गते देखि नियमित महाधिवेशनको कार्यतालिका पेश गरेका महाममन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने उक्त तालिकामा महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने पर्ने पक्षमा छन् ।  

त्यसमा पार्टीले निर्णय नलिएर महामन्त्रीबाट राजीनामा गर्ने तयारीमा रहेको निकटहरूको दाबी छ । यहीबिचमा बिहीबार बस्ने केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि दल दर्ताको निर्णय लिने नेताहरूले जनाएका छन् । महाधिवेशनसहितका विषयमा सहमति खोज्न राति अवेरसम्म पनि नेताहरू दुई पक्ष र बहुपक्षीय छलफलमा जुटी रहेका छन् ।

प्रकाशित: ३ मंसिर २०८२ २१:१४ बुधबार