नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका राजनीतिक दलहरूसँग देश बनाउने कुनै स्पष्ट गन्तव्य नरहेको टिप्पणी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ दलहरूको यात्रालाई ट्रेडमिलको दौडसँग तुलना गरे।
‘अरू पार्टीहरू र अहिले नयाँका नाममा आएकाहरूमा कुनै गन्तव्य छैन। उनीहरू ट्रेडमिलमा दौडिएजस्तो मात्र हो, पसिना बगाउँछन् तर पुग्ने कतै होइन।’
ओलीले नेकपा एमाले मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर हिँडेको पार्टी भएको दाबी गरे। अन्य दलहरू केका लागि कुदिरहेका छन् भन्ने उनीहरू स्वयंलाई थाहा नभएको तर एमालेसँग स्पष्ट मिसन रहेको उनको भनाइ थियो।
विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले भने, ‘तपाईंहरूले सही पार्टी रोज्नुभएको छ। एमाले कुनै उद्देश्य नभएको र हावामा कुद्ने पार्टी होइन, यो गन्तव्यमा पुग्नका लागि हिँड्ने पार्टी हो।’
ओलीले नवप्रवेशीहरूलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको समृद्धिका लागि काम गर्न निर्देशन समेत दिए।
प्रकाशित: १० माघ २०८२ १५:२१ शनिबार