राजनीति

मदन-आश्रितले स्थापित गर्नुभएको जबज परिवर्तन र जनताको अधिकारको मार्गदर्शन हो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको जनताको बहुदलीय जनवाद (जबज) परिवर्तन र जनताको अधिकारको मार्गदर्शन भएको बताएका छन्।

आज मदन–आश्रितको ३३औँ स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन्। उनले दासढुंगाको त्यो रहस्यमय घटनाले दुई असाधारण योद्धा गुमाए पनि उनीहरूले छोडेको विचार, संघर्ष र राजनीतिक मार्गदर्शन आज पनि जीवित रहेको बताए।

उनले भने, 'आज मदन–आश्रितको ३३औँ स्मृति दिवस। दासढुंगाको त्यो रहस्यमय घटनाले हामीबाट दुई असाधारण योद्धा गुमायो, तर उहाँहरूले छोड्नुभएको विचार, संघर्ष र राजनीतिक मार्गदर्शन आज पनि जीवित छ।'

मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको जनताको बहुदलीय जनवाद केवल सिद्धान्त होइन, परिवर्तन र जनताको अधिकारको मार्गदर्शन भएको उनको भनाइ छ। 'मदन भण्डारी र जीवराज आश्रितले स्थापित गर्नुभएको जनताको बहुदलीय जनवाद केवल सिद्धान्त होइन, परिवर्तन र जनताको अधिकारको मार्गदर्शन हो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'उहाँहरूको सपना, योगदान र संघर्षप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली!'

प्रकाशित: ३ जेष्ठ २०८३ ०७:५० आइतबार