राजनीति

माधवको मुद्दाबारे झलनाथले भने: नीतिगत निर्णयमा अख्तियारको प्रवेश ‘जायज’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाबारे सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले मुख खोलेका छन्। चीनको ६ दिने भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्यसबारे अब पार्टीभित्र प्रश्न उठ्न सक्ने भन्दै मुख खोलेका हुन्। 

खनालले संविधानबमोजिम गठन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको नीतिगत निर्णयमा पस्नु ‘जायज’ रहेको पनि बताए। 

‘राज्यको संविधानबमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले चाहे क्याबिनेटले गरोस्, चाहे त्यो प्रान्तीय क्याबिनेटले गरोस्, चाहे त्यो स्थानीय तहका कुनै पनि निकायले गरोस्,’ खनालले भने, ‘जहाँकहीँ पनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानबिन गर्नै पर्छ।’ 

प्रधानमन्त्री वा कुनै विशिष्ट व्यक्ति भनेर भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति पाउन नहुने पनि खनालले बताए। जनतामार्फत बनेको कुनै निकायलाई खास खास मान्छेहरूले गरेका गलत कामहरू छानबिनको दायराभन्दा माथि हुन्छन् भने राजतन्त्रको आलोचना गर्नुको अर्थ पनि नरहने खनालले टिप्पणी गरे। 

नेकपा एसका सम्मानित नेता खनालले यसो भन्दा स्वयं अध्यक्ष नेपाल र उनको पार्टीले भने सरकारको नीतिगत निर्णयभित्र पसेर अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको भन्दै प्रतिवाद गरिरहेको छ। यस्तै नेपालमाथि ‘राजनीतिक प्रतिशोध साँधिएको’ भन्दै पार्टी अध्यक्षबाट राजीनामा दिनु नपर्ने पनि पार्टीले निष्कर्ष निकालिसकेको छ। 

अख्तियारले अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यो विषय अहिले सार्वजनिक वृत्तमा चर्चामा छ। 

प्रकाशित: २८ असार २०८२ १४:५८ शनिबार

#NagarikNews #jhalanath khanal