सवारी दुर्घटनापछि गाडी ब्याक गरेर फेरि ठक्कर दिँदा ज्यान गएको घटना संसदमा उठेको छ।
सोमबार नेकपा एमालेका सांसद ऐन महरले कैलालीमा भएको उक्त घटनाबारे उल्लेख गर्दै सार्वजनिक यातायातमा बढ्दो लापरबाही र गैरजिम्मेवारीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। कैलालीको गोदावरी नगरपालिका-२ मा भएको घटनाबारे उनले जानकारी गराएका थिए। उनका अनुसार महाकाली यातायातको सुप प्र.२-००१ ख ९५६ नम्बरको गाडीले बझाङको मस्टा गाउँपालिका-६ की सिन्की बोहरालाई ठक्कर दिएको थियो।
महरका अनुसार ठक्करपछि बोहरा सडकमा लडेकी थिइन्। उनको खुट्टा भाँचिएको र उनी गम्भीर घाइते भएको अवस्थामा गाडी अगाडि बढेको थियो। त्यसपछि गाडी फेरि पछाडि फर्काइएको र घटनास्थलमै उनलाई पुनः ठक्कर दिइएको थियो। पुनः ठक्करपछि बोहराको घटनास्थलमै मृत्यु भयो।
घटनापछि मृतकका परिवार, आफन्त र स्थानीयले विरोध गरेको तर प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाएको महरको आरोप छ। विरोधका क्रममा मृतकका परिवारका एक सदस्यलाई प्रहरीले लाठी प्रहार गर्दा टाउकोमा चोट लागेको र उनी उपचारका लागि अस्पतालमा रहेको उनले बताए।
महरले घटनामा दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उनले भने, ‘यस्तो गम्भीर घटनामा दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्छ। सरकारको यसतर्फ गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
महरले कैलालीको धनगढीमा भएको अर्को सवारी दुर्घटनाको घटनासमेत संसदमा उठाएका छन्। उनका अनुसार बझाङको जयपृथ्वी नगरपालिका-५ का ६२ वर्षीय नन्दलाल गिरी बिहान मर्निङ वाकमा निस्किएका बेला क्याम्पस रोडमा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा सुप प्र.१००१-ज ८८७९ नम्बरको हाइसले ठक्कर दिएको थियो।
दुर्घटनापछि गिरीलाई अस्पताल लगिए पनि परिवारलाई तत्काल जानकारी नदिइएको र बेवारिसे अवस्थामा राखिएको महरले आरोप लगाए। पछि घटनाबारे जानकारी पाएपछि उनलाई अर्को अस्पताल लगिएको र थप उपचारका लागि भारतको लखनउ पुर्याइएको उनले बताए। उपचारकै क्रममा गिरीको मृत्यु भएको महरले जानकारी दिए।
महरले सार्वजनिक यातायातमा बढ्दै गएको लापरबाही र गैरजिम्मेवारी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
‘सार्वजनिक यातायातमा देखिएको गैरजिम्मेवारी, लापरबाही र अराजकतालाई नियन्त्रण गर्नुपर्छ। यस्ता घटनामा दोषीलाई कारबाही गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने।
प्रकाशित: ८ भाद्र २०८३ १४:३० सोमबार



