झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंबाट आए पनि हेलिकोप्टर झापामा ल्याण्ड हुन नसकेपछि पुनः काठमाडौं फर्किएका छन्।
काठमाडौंमा मतदान गरेपछि शाह एभरेष्ट एयरको हेलिकोप्टरमार्फत आफ्नो निर्वाचन क्षेत्र झापा आए पनि झापामा हेलिकोप्टर ल्याण्ड हुन नसक्ने भन्दै काठमाडौं फर्किएका हुन्।
प्रहरी स्रोतका अनुसार एभरेष्ट एयरको हेलिकोप्टरमार्फत उनी बिहीबार बिहान सवा ९ बजेतिर झापाका लागि काठमाडौंबाट उडेका थिए। प्रहरी अधिकारीहरूले मौसमको कारण हेलिकोप्टर ल्याण्ड हुनसक्ने अवस्था नभएका कारण बिचबाटै काडमाडौं फिर्ता भएको जानकारी आएको बताउँछन्।
'मौसम र प्राविधिक कारणले समस्या भयो भनिएको छ। अरु कुरा थाहा भएन', प्रहरी स्रातले भन्यो। काठमाडौंबाट झापाका लागि कुनै पनि नियमित हवाई उडान थिएन। सोही कारण चार्टर उडानमार्फत बालेनले आफ्नो यात्रा तय गरेको बताइएको छ।
हेली एभरेष्टका अर्का लगानीकर्ता मिङमा शेर्पा पनि संखुवासभामा रास्वपाकै तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।
यस्तै, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उनी सवार कल साइन ९ एन ए ओ बीको एभरेष्ट हेलिकोप्टर प्राविधिक समस्या आएका कारण काठमाडौं फर्किएको जनाएको छ। यसबारे थप बुझिरहेको विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले नागरिकलाई जानकारी दिए। 'काठमाडौंबाट भद्रपुर उडेको हेलिकोप्टर भद्रपुर नपुगिकन बीच बाटोबाटै फर्किएको जानकारी आएको छ। यसबारे थप बुझ्ने प्रयास भइरहेको छ,' उनले भने।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:०८ बिहीबार