राजनीति

काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जेन-जी २.० को घोषणा

आफूलाई जेन-जी २.० बताउने समूहले आगामी कार्तिक २३ र २४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका छन्।

जेन-जी २.० को राष्ट्रिय समन्वय समितिले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो।

समितिका सदस्य सचिव कुन्दन कुशहवाले असोज २३ देखि २५ गतेसम्म देशभरका ३९ स्थान र प्रवासमा रहेका नेपालीसँग समेत ‘डिस्कोर्ड मिटिङ’ मार्फत प्रारम्भिक भेला सम्पन्न भएको र सोही भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको सुनाए।

पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अविन लिम्बुले सबै जेन-जी समूहका अगुवाहरूसँग छलफल गरी आन्दोलनको रक्षा र भावी रणनीति तय गर्न एउटै छातामुनि आउन १२० सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी दिए।

यसका साथै, एक वार्ता समिति र केही विभागहरू पनि घोषणा गरिएको उनले बताए।

प्रारम्भिक भेलाले जेन-जी आन्दोलनको जगमा बनेको ‘नागरिक सरकार’ लाई सफल बनाउन अग्रणी भूमिका खेल्ने निर्णय गरेको छ।

साथै, राजनीतिक भागबण्डाका आधारमा भएका नियुक्तिहरूको विवाद समाधान गर्न न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा आयुक्तहरूलाई मार्गप्रशस्त गर्न पहल गर्ने निर्णय पनि गरेको छ।

भेलाले सुरक्षा निकायसँग हातेमालो गर्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न देशैभरि ‘जेन-जी फोर्स’ गठन गर्ने योजना अघि सारेको छ।

समितिले जेन-जी आन्दोलनको म्यान्डेटअनुसार काम गर्न सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आन्दोलनमा सक्रिय रहेका देश तथा विदेशका करिब २० लाख युवालाई साधारण तथा सक्रिय सदस्यका रूपमा जोड्दै कार्तिक १५ सम्म सबै संयन्त्रलाई एकीकृत गर्ने र सदस्य संख्या ६० लाख पुर्‍याउने लक्ष्य राखेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रकाशित: २७ आश्विन २०८२ १९:१६ सोमबार