नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णयका कारण धर्म, संस्कृति, परम्परा तथा स्थानीय बस्तीहरू प्रभावित हुने अवस्था देखिएको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका–८ मा आयोजित गौरव तथा अभिनन्दन कार्यक्रममा शनिबार बोल्दै थापाले सरकारले कठोर निष्कर्षमा पुग्न नहुने, तर जनस्तरबाट उठेका चिन्ता र गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।
उनले पशुपति क्षेत्र आसपासका बस्ती, मठ–मन्दिर तथा जात्रा–पर्वसँग सम्बन्धित विषयमा संवेदनशीलता नहेरेको बताए। ‘यहाँका बस्ती, संस्कृति र परम्परासँग धेरै इतिहास र भावना जोडिएका छन्। मानिसहरूलाई उठीबास लगाउने निर्णयसँगै थुप्रै सांस्कृतिक र सामाजिक पक्ष पनि हराउन सक्छन्,’ उनले भने।
सरकारले उद्देश्यसहित आफ्ना निर्णय गरेको भए पनि लोकतान्त्रिक व्यवस्थामा पुनर्विचार गर्न सक्नुपर्ने बताए। उनले नागरिकले प्रश्न उठाएपछि निर्णय सच्याउनु वा आवश्यक परे क्षमायाचना गर्नु कमजोरी नभइ जिम्मेवार विशेषता भएको बताए।
‘अहिले धेरै चर्को प्रतिक्रिया दिनुभन्दा सरकारले आफ्ना कमजोरी सच्याउँछ भन्ने विश्वास राखौँ। तर यस्ता संवेदनशील विषयलाई बेवास्ता गरियो भने भित्रभित्रै असन्तुष्टि बढ्न सक्छ,’ उनले भने।
प्रकाशित: ३१ जेष्ठ २०८३ १३:०९ आइतबार