राजनीति

साइबर ब्युरोमा अजयबाबु, भने- सरकार बोल्नेहरूको मुख थुन्दै छ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य संयन्त्र परिचालन गरिएको आरोप लगाउँदै उनी आइतबार दिउँसो ब्युरो पुगेका हुन्।

पार्टी सभापतिविरुद्ध प्रायोजित दुष्प्रचार गर्नेहरूबारे समाचार र टिप्पणी गरेपछि आफूलाई लक्षित गरी उजुरी हालिएको र चाडबाडका बेला समेत प्रहरीले तारन्तार ताकेता गरेको शिवाकोटीले बताएका छन्। तिहार मनाउन गृहजिल्ला दोलखा पुगेका शिवाकोटी प्रहरीको निरन्तर दबाबपछि काठमाडौं फर्किएर ब्युरोमा हाजिर भएका हुन्।

ब्युरो परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री शिवाकोटीले भने, ‘सरकारका बारेमा लेख्ने कुरालाई लिएर अहिले बोल्नेहरूको मुख थुन्न खोजिँदै छ। केही दिनअघि हाम्रा पार्टी सभापतिका विरुद्ध अनर्गल, भ्रामक र प्रायोजित सामग्रीहरू बाहिर ल्याइयो। त्यस्ता व्यक्तिहरूको खोजी गर्दा रास्वपाका सभापति, वर्तमान प्रधानमन्त्री, मन्त्रीहरू र प्रधानमन्त्रीका सल्लाहकारहरूसँग निकट सम्बन्ध रहेका पात्रहरू देखिए।’

ती बिचौलिया र पात्रहरूबारे समाचारको सन्दर्भमा टिप्पणी गरेकै कारण सरकारको दबाबमा प्रहरीले आफूविरुद्ध ताकेता सुरु गरेको उनको दाबी छ।

प्रहरीले औपचारिक पत्रबिना नै फोनबाट निरन्तर दबाब दिएको उल्लेख गर्दै उनले भने, ‘हामी कानुन मान्ने मान्छे हौं। म बाहिर भएको बेला पनि मान्छेमार्फत खबर गरियो। हिजो दोलखामा हुँदा र आज बिहान पनि तारन्तार फोन गरेर बोलाइएपछि म आफैं उपस्थित भएको हुँ।’

आफूविरुद्ध कुनै व्यक्तिले दिएको उजुरीका आधारमा छलफलका लागि बोलाइएको जानकारी पाएको बताउँदै सहमहामन्त्री शिवाकोटीले ब्युरोका अधिकारीहरूसँगको कुराकानीपछि थप विषय प्रस्ट हुने बताए।

प्रकाशित: २२ कार्तिक २०८३ १५:१९ आइतबार