राजनीति

सरकारले प्रतिशोध साँध्न थाल्यो: देव गुरुङ

नेपाली कम्युनिष्ट पार्टीमा नेता देव गुरुङले वर्तमान सरकारले प्रतिपक्षी दलहरू विरुद्ध राजनीतिक प्रतिशोध साँध्न थालेको बताएका छन्।

मंगलबार पार्टीको बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गुरुङले सरकार सुशासनभन्दा पनि पूर्वाग्रह तर्फ अघि बढेको सुनाए।

नेता गुरुङले सरकारका कामकारबाहीको समीक्षा गर्ने बेला भइनसकेको भए पनि सुरुवात नै गलत ढंगले भएको बताए। उनले भने, ‘सरकारले भर्खरै काम सुरु गरेको छ, धेरै टीकाटिप्पणी त छैन । तर, अन्य दलहरूका विरुद्ध प्रतिशोध साँध्ने गरी जुन कदमहरू चालिएका छन्, त्यो बाहेक अहिले नै समीक्षा गरिहाल्ने विषय केही छैन।’

कार्की आयोगका प्रतिवेदनलाई हतियार बनाएर सरकारले विपक्षी नेताहरूलाई निशाना बनाएको गुरुङको जिकिर छ। ‘आयोगको रिपोर्टको नाममा जुन खालको कदम चालिएको छ, त्यो त प्रतिशोधकै रूपमा देखिन्छ,’ उनले सुनाए।

सरकारले सन्तुलित र निष्पक्ष हुनुपर्नेमा केवल विपक्षीलाई कमजोर बनाउने खेलमा लागेको उनको विश्लेषण छ। उनले सरकारको यस्तो कार्यले राजनीतिक अस्थिरता झन् बढ्न सक्ने चेतावनी समेत दिए।

उपसभामुखको विषय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यबारे सोधिएको प्रश्नमा नेता गुरुङले हालसम्म कुनै ठोस छलफल नभएको स्पष्ट पारे।

उनले पार्टीभित्र यी विषयहरूमा एजेन्डा नबनेको र कुनै पनि निर्णय नभएको बताए। ‘उपसभामुखको विषयमा नेकपाले अहिले केही सोचेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि यस विषयमा कुनै छलफल भएको छैन,’ उनले भने।

नेता गुरुङले आगामी दिनमा नेकपाले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले सरकारका जनविरोधी र प्रतिशोधपूर्ण कामको पार्टीले डटेर सामना गर्ने बताए।

बैठकका एजेन्डाहरूबारे जानकारी दिँदै उनले भने, ‘आजको बैठकमा नियमित एजेन्डाहरूमा छलफल हुन्छ। हामी प्रतिपक्षमा छौं र हाम्रो भूमिका सोही अनुसार सशक्त हुनेछ। दलहरूले आफ्ना प्रतिक्रिया दिइरहेका छन् र हामी पनि आफ्नो अडानमा प्रष्ट छौं।’

प्रकाशित: २४ चैत्र २०८२ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App