राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका बेला नागरिकसँग गरेका बाचा पूरा गर्ने दिशामा सरकार तीव्र गतिमा अघि बढिसकेको बताएका छन्।
बुधबार पर्सा जिल्ला अदालतमा तारेख बुझ्न पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरे त्यसको सम्पूर्ण जवाफदेही पार्टी हुने बताए।।
सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले पार्टीको सार्वजनिक बाचापत्र नै सरकार सञ्चालनको मूल आधार भएको जिकिर गरे।
‘हामीले नागरिकलाई भोट माग्दा जे बाचा गरेका थियौं, त्यो पूरा गर्छौं,’ उनले भने, ‘यदि पूरा नभएको खण्डमा पार्टीले किन पूरा गरेन भनेर जवाफ दिनेछ। सरकार नागरिकलाई गरेको बाचाअनुसार नै अगाडि बढ्छ।’
बारा र पर्सा क्षेत्रका उद्योगी-व्यवसायीका समस्याबारे सोधिएको अर्को प्रश्नमा उनले सरकारले उद्योगमैत्री वातावरण निर्माणका लागि आफ्नो ‘स्पिड’ बढाइसकेको बताए।
चुनावअघि नै आफूहरूले उद्योग क्षेत्रका समस्या समाधान गर्ने खाका सार्वजनिक गरिसकेको र सोही एजेन्डालाई जनताले मत दिएर अनुमोदन गरेको उनको भनाइ थियो।
उनले उद्योग क्षेत्रका सम्पूर्ण समस्या समाधान हुनेमा आश्वस्त रहन सबैलाई आग्रह गरे।
यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको कामकारबाहीबारे सोधिएको प्रश्नमा सभापति लामिछानेले भने, ‘सरकारले राम्रो काम गर्दैछ, यसको मूल्यांकन गर्ने जिम्मा नागरिक समाज र पत्रकार साथीहरूको हो।’
आफूहरू अहिले सरकारमा रहेकाले आफ्नो कामलाई कसरी हेर्ने भन्ने जिम्मा पनि नागरिक र सञ्चारमाध्यमलाई नै छाडेको लामिछानेले बताए।
प्रकाशित: १८ चैत्र २०८२ १६:४७ बुधबार