राजनीति

सहकारी प्रकरणमा सरकार ‘निकम्मा’ भयो, हाम्रो ढंग पुगेन: गगन

कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा सरकारको भूमिका ‘निकम्मा’ भएको र एउटा व्यक्तिमाथि मात्रै बहस केन्द्रित गरेर हजारौं पीडितलाई अन्यायमा पारेको बताएका छन्।

उनले सरकारले सुरुदेखि नै निष्पक्ष र कठोरतापूर्वक सबै ठगहरूलाई कारबाही गरेको भए आज एउटा व्यक्तिलाई लिएर यत्रो ठूलो राजनीतिक कोकोहोलो मच्चिने अवस्था नै नआउने बताए।

‘हाम्रो ढंग पुगेन,’ थापाले भने, ‘सूर्य थापाको नेतृत्वमा बनेको समितिले दिएका दर्जनौं सुझाव छन्। रामेश्वर खनालको रिपोर्टले सुझाएको छ। तर हामीले के गर्‍यौँ ? ५० हजारभन्दा बढी मानिस रकम फिर्ताको सूचीमा छन्, जम्मा ४ हजारले पाएका छन्।’

उनले एउटा ठगीको अभियुक्तको वरिपरि पूरै बहस घुमेको तर हजारौं पीडितको कथा हराएको भन्दै आक्रोश व्यक्त गरे। ‘यदि हामीले कांग्रेस, एमाले नभनी सहकारी ठगीमा संलग्न जोसुकैलाई कारबाही गरेको भए, कसैलाई दयामाया नदेखाएको भए, आज यो अवस्था आउँथ्यो ?’ उनले प्रश्न गरे।

यसैबीच, थापाले लिपुलेकका विषयमा भारत र चीनले गरेको सम्झौताप्रति गम्भीर असहमति जनाउँदै राष्ट्रियताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए।

उनले यस विषयलाई घरेलु राजनीतिको विषय नबनाउन र उग्रराष्ट्रवादी हुने होडबाजी नगर्न सबैलाई आग्रह गरे। ‘हाम्रो भूमिमाथि आँखा लगाउने कुरा हामी कसैलाई स्वीकार्य छैन भन्ने एउटै सन्देश दुवै छिमेकीलाई दिनुपर्छ,’ उनले भने।

प्रकाशित: ५ भाद्र २०८२ १६:४२ बिहीबार