राजनीति

सरकारले वाचाअनुसार काम गरेन, बाटो बिरायोः राप्रपा सांसद गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले पछिल्लो समय भएका विभिन्न घटनाक्रमप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले प्राकृतिक विपत्तिदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले विपत्तिको समयमा सरकारले तदारुकताका साथ काम गर्नुपर्ने भए पनि सरकार गम्भीर नभएको आरोप लगाए।

उनले दशैं–तिहारको समयमा बस तथा माइक्रोबस सञ्चालनमा लगाइएको भनिएको ‘सिन्डिकेट’ सम्बन्धी व्यवस्थाप्रति पनि आपत्ति जनाए। वैकल्पिक व्यवस्था नगरी हचुवाका भरमा सूचना जारी गर्ने कामले यात्रुलाई समस्या पर्न सक्ने भन्दै उनले उक्त विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए।

यस्तै, सांसद गिरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले राति पक्राउ गरेको घटनाबारे पनि प्रश्न उठाए। सुरक्षा खतरा भएको अवस्थामा व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको भन्दै उनले असन्तुष्टि जनाए।

जबरालाई भेट्न जाने क्रममा संवैधानिक निकाय तथा मानव अधिकारकर्मीहरूलाई समेत भेट्न नदिइएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए। जबरालाई सामान्य सोधपुछ पछि छाडिएको भनिए पनि घटनाक्रमले सरकार कानुन, विधि र प्रक्रियाअनुसार अघि बढिरहेको छ कि छैन भन्ने प्रश्न उठेको बताए।

‘हामी सदनमा कानुन, विधि र प्रक्रियाका विषयमा बहस गरिरहेका छौँ। सभ्य तरिकाले मुलुक सञ्चालन गर्ने र नीति निर्धारण गर्ने विषयमा छलफल गरिरहेका छौँ,’ गिरीले भने, ‘तर सरकारका पछिल्ला हर्कत हेर्दा सरकार किन बाटो बिराइरहेको छ भन्ने प्रश्न उठेको छ।’

उनले सरकारले विगतमा गरेका प्रतिबद्धता र जनतासामु गरेका वाचाअनुसार काम गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको बताए।

पछिल्ला घटनाक्रमप्रति संसद् र सरकारको ध्यानाकर्षण गराउँदै उनले घटनाबारे आवश्यक स्पष्टता दिन सरकारसँग आग्रह गरे।

प्रकाशित: १२ आश्विन २०८३ १२:२९ सोमबार