राजनीति

जेन-जी विद्रोहलाई षड्यन्त्रको आँखाले नहेराैं, असन्तुष्टिको विष्फोट हो: विश्लेषक शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले जेन-जी आन्दोलनले राजनीतिक दल मात्र नभई सामाजिक संघ–संस्थादेखि राज्यका हरेक निकायमा कम्पन ल्याएको बताएका छन्।

उनले जेन-जी आन्दोलनलाई षड्यन्त्रको आँखाले नहेरी समयको वेग र पुस्तान्तरणको आवश्यकताका रूपमा बुझ्नुपर्नेमा जोड दिए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै शर्माले यस्तो बताएका हुन्।

विश्लेषक शर्माले जेन-जी आन्दोलनको तीव्र गति र वेगले दुई दिनमै धेरै कुराको छिनोफानो गरिदिएको टिप्पणी गरे।

‘यो आन्दोलनको वेग यति थियो कि यसले हरेकलाई थर्काएर कम्पन सिर्जना गरेको छ,’ उनले भने, ‘त्यो कम्पनलाई सही रूपमा बुझ्न सकियो भने मात्र नेपाली समाज अगाडि बढ्न सक्छ।’

उनले आन्दोलनलाई कतिपयले षड्यन्त्र भनेर व्याख्या गर्न खोजे पनि आफूले यसलाई लोकतान्त्रिक डिस्कोर्सको रूपमा लिएको बताए। ‘षड्यन्त्रको सिद्धान्तले सबै कुरा व्याख्या गर्न सक्दैन,’ शर्माले भने, ‘जे भयो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन।’

शर्माका अनुसार यो आन्दोलनले राजनीतिक दल, संघ–संस्था, ट्रेड युनियनदेखि हरेक क्षेत्रमा एक किसिमको आन्तरिक द्वन्द्व सिर्जना गरेको छ।

‘यो अघिल्लो पुस्ता भर्सेस नयाँ पुस्ताबिचको द्वन्द्व हो,’ उनले भने, ‘एमाले, कांग्रेस लगायतका दलहरूको महाधिवेशन र आन्तरिक गतिविधिमा देखिएको हलचल पनि सायद यही आन्दोलनको प्रभाव हो। यो नभएको भए यति चाँडो परिवर्तनको बहस हुने थिएन होला।’

‘मानिसहरूमा एक किसिमको ‘मोमेन्टम’ थियो, जुन सानो झिल्कोले आगोको रूप लियो,’ उनले भने।

अहिलेको विद्रोहले पुराना नेतृत्वलाई सच्चिन वा सुम्पिन बाध्य पारेको शर्माको तर्क छ। उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई संयोजक तोक्नुलाई पनि चलाखीपूर्ण कदमको रूपमा अर्थ्याए।

‘उहाँले पार्टीलाई रूपान्तरण गर्छु भन्नुभएको छ, त्यो हेर्न बाँकी छ। तर, कस्मेटिक रूपमै भए पनि दलहरूले परिवर्तनको महसुस गरेका छन्,’ शर्माले भने।

प्रकाशित: २ पुस २०८२ १९:२५ बुधबार