राजनीति

महाधिवेशन लोकतन्त्र र राष्ट्रिय भविष्यका लागि महत्त्वपूर्ण अवसर हो : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य  अर्जुननरसिंह केसीले पार्टीको एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको बताएका छन्। 

उनले महाधिवेशनमा शतप्रतिशत सहमति र एकताको सम्भावना नरहे स्वस्थ र निष्पक्ष लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने बताएका छन्। 

असोज १६ गतेदेखि हुने कांग्रेस महाधिवेशनलाई पार्टीको आवधिक सांगठनिक प्रक्रिया मात्रै नभई पार्टी, लोकतन्त्र र राष्ट्रिय भविष्यका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने केसीको भनाइ छ। 

उनले कांग्रेस नेपाली इतिहासका विभिन्न मोडमा नवीनता र निरन्तरताको संगमका रूपमा स्थापित लोकतान्त्रिक अभियान भएको उल्लेख गर्दै अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको ऊर्जा, साहस, नवप्रवर्तन र उत्साहसँग जोड्नुपर्ने बताएका छन्। 

बदलिँदो सामाजिक तथा राजनीतिक परिवेश र वर्तमानका चुनौतीलाई गम्भीरतापूर्वक बुझ्नु अहिलेको मुख्य आवश्यकता रहेको केसीले बताएका छन्। उनले महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिएका छन्। 

‘मैले पार्टीको समग्र एकता, सौहार्दता र सर्वसम्मतिका निमित्त आफ्नो तर्फबाट निरन्तर एवं निष्ठापूर्वक सदैव प्रयास गर्दै आएको छु र निरन्तर प्रयत्नरत रहने छु,’ केसीले भनेका छन्। 

महाधिवेशनका सहभागीबीच पूर्ण सहमति र एकताको सम्भावना नरहे स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई आत्मसात् गर्नुपर्ने उनको भनाइ छ। 

केसीले लोकतन्त्रको सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित हुने भन्दै महाधिवेशनको प्रतिस्पर्धालाई कुनै पनि किसिमको हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट मुक्त राख्नुपर्ने बताएका छन्। 

उनले व्यक्तिगत आग्रह–पूर्वाग्रह र भिन्नताभन्दा माथि उठेर पार्टीको बृहत्तर हित, पुस्तान्तरणको सन्तुलन र संगठन सुदृढीकरणमा ध्यान दिन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।  

प्रकाशित: ९ आश्विन २०८३ १७:३६ शुक्रबार