नेपाली कांग्रेसका नेता एनपी साउदले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई भेला मात्रै भएको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता साउदले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा महामन्त्रीहरू स्वयं सहभागी रहेको स्मरण गराए।
उनले भने, ‘उहाँहरूकै सहभागितामा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको हो। त्यो महाधिवेशनको मिति तोक्ने बैठकमा पनि उहाँहरू हुनुहुन्थ्यो। त्यसैले नियमित महाधिवेशन स्थगित भएपछि उहाँहरूले बोलाउनुभएको भेला भन्दा ज्यादा हुन सक्दैन।’
साउदले महामन्त्रीहरूले पार्टी फुटाउन नचाहेको विश्वास व्यक्त गर्दै विधान र एकतालाई सम्मान गर्ने अपेक्षा गरे। ‘उहाँहरूले पार्टीको एकतालाई प्रहार गर्नुहुने छैन। मिलेर सँगसँगै बस्ने प्रजातान्त्रिक संस्कृति कांग्रेसले दशकौंदेखि अंगीकार गर्दै आएको छ, उहाँहरू त्यसैको हिस्सा भएर बस्नुहुनेछ,’ उनले भने।
सञ्चारकर्मीको जिज्ञासामा साउदले केन्द्रीय समितिको बैठक जारी रहेको तर वार्ता टोलीको छलफल निष्कर्षमा नपुग्दासम्म अन्योल रहेको संकेत गरे।
उनले भने, ‘वार्ता गर्ने साथीहरू छलफल गरिरहनुभएको छ। उहाँहरूले उठाएका विधानसँग सम्बन्धित सकारात्मक कुराहरूमा नेतृत्व पनि सकारात्मक छ। वार्ताको टुंगो लागेपछि मात्र केन्द्रीय समितिको बैठक पनि टुंगोमा पुग्छ।’
भृकुटीमण्डपमा भेला भएका साथीहरूले पनि आफ्नो निर्वाचन कार्यतालिका स्थगित गर्दै आएको उल्लेख गर्दै साउदले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले पार्टी विभाजन नहोस् भन्नेमा सबै चिन्तित र संवेदनशील रहेको भन्दै वार्ता र संवादबाटै समस्याको समाधान निस्कने दाबी गरे।
उनले नेतृत्व परिवर्तनको माग सम्बोधन गर्न १५औं महाधिवेशन कुर्नुपर्ने स्पष्ट पारे। ‘नेतृत्व परिवर्तन १५ औं महाधिवेशनबाट हुन्छ। देशैभरिका साथीहरूले वैशाखको अन्तिम साता काठमाडौंमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउनेछन्,’ साउदले भने।
प्रकाशित: २९ पुस २०८२ १८:३३ मंगलबार