राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले युवा पुस्ताको सक्रिय सहकार्यमा मात्रै राज्यको समुन्नत भविष्य निर्माण गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बोल्दै मुख्य सचेतक बुर्लाकोटीले नेपालको कुल जनसङ्ख्याको करिब ४३ प्रतिशत हिस्सा ओगटेका युवाका मुद्दाहरूलाई राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए।
उनले जेन-जी आन्दोलनको पृष्ठभूमिमा युवा नै रहेको स्मरण गराउँदै देशको बदलिँदो भविष्यका लागि युवा पुस्ता अपरिहार्य रहेको उल्लेख गरे।
‘आजको युवा पुस्ताले केवल मतदान गरेर मात्रै होइन, पुरानो राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएर परिवर्तनको ढोका खोलेको छ,’ मुख्य सचेतक बुर्लाकोटीले सदनमा भने।
युवाका समस्या केवल बेरोजगारीमा मात्रै सीमित नरहेको उल्लेख गर्दै उनले लागुऔषध, मानसिक स्वास्थ्य समस्या, तनाव परामर्शको अभाव, निराशा र भविष्यप्रतिको अनिश्चितता मुख्य चुनौतीका रूपमा रहेको बताए।
यी सम्पूर्ण समस्याहरूको एकीकृत समाधानका लागि आफ्नो पार्टी रास्वपा गम्भीर र संवेदनशील रहेको उनको भनाइ थियो।
प्रकाशित: २६ श्रावण २०८३ २०:३२ मंगलबार



