नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको जग नै मान्छे मार्ने, मराउने र षड्यन्त्र गर्ने भएको बताएका छन्।
आइतबार एमाले संसदीय विभागद्वारा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारको सुरुवात नै हिंसात्मक गतिविधि र ध्वंसात्मक षड्यन्त्रबाट भएको दाबी गरे।
अध्यक्ष ओलीले भने, ‘अहिले भएको परिवर्तनको प्रारम्भ भने मान्छे मार्ने, मराउने, षड्यन्त्र गर्ने र त्यो षड्यन्त्रबाट सुरु भएको छ। फलानोको घर जलाउँ भन्या छ कुद्या छ, उता जलाउँ भन्या छ कुद्या छ।’
उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय पाटाहरू सुरक्षित हुने भए पनि वर्तमान राजनीतिक परिवेश अराजकता र बलजफ्तीको जगमा चलेको आरोप लगाए।
सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा बेलगाम अराजकता फैलाइएको भन्दै ओलीले असन्तुष्टि जनाए। ‘सामाजिक सञ्जालले अचेल असामाजिक सञ्जालको रूपमा काम गरिरहेको छ,’ उनले थपे, ‘असभ्यता, अश्लीलता र असामाजिकताका साथ धेरि नसक्नु र सुनि नसक्नु भाषा शैली प्रयोग गरी मानिसलाई हतोत्साहित बनाउने र महिलाहरूको हुरमत लिने काम भइरहेको छ। अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन बनेको छ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाहको सरकारले मिटरब्याज पीडितहरूलाई पुनः धोका दिएको आरोप लगाउँदै देशको डुबेको अर्थतन्त्रलाई ढाकछोप गर्न झन् सङ्कटमा धकेलिएको टिप्पणी गरे।
‘फेरि एक पटक मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ,’ उनले भने, ‘डुबेको अर्थतन्त्रलाई डुबेको छैन भनेर देखाउन यिनीहरूले यसलाई झन् डुबाइरहेका छन्। बजारमा मूल्य र कर वृद्धि अत्यधिक छ, तर सरकारमा बस्नेहरू सत्य कुरा बङ्ग्याएर बोलिरहेका छन्।’
प्रकाशित: ३ श्रावण २०८३ १६:४९ आइतबार