राजनीति

‘हिरोसिमा र नागासाकी घटना मानव सभ्यताकै कलङ्क’

जापानको हिरोसिमा र नागासाकीमा ८० वर्षअघि भएको त्रासदीपूर्ण घटनाको स्मरण गर्दै त्यस घटनामा मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले बिहीबार  काठमाडौँमा आयोजना गरेको ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ विषय कार्यक्रमका सहभागी वक्ताले त्यस घटनालाई मानव सभ्यताकै कलङ्कका रूपमा हेरिएको धारणा राखेका छन्। 

सन् १९४५ मा अगस्ट ६ र ९ गते  हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दुई लाखभन्दा बढीले अप्राकृतिक मृत्युवरण गर्नुपरेको थियो। त्यस घटनामा हजारौँ व्यक्ति गम्भीर घाइते भए। विश्वमै मानव इतिहासमा कालो दिनका रूपमा चित्रण गरिएको त्यस घटनाका कैयौँ घाइते अझै पनि पीडादायक जीवन व्यतीत गरिरहेका छन्।

आणविक हतियारको प्रयोगबाट क्षणभरमै त्यति ठुलो मानवीय क्षति भएको इतिहासकै पहिलो घटनाका रूपमा हिरोसिमा र नागासाकी आक्रमणलाई लिने गरिएको छ। त्यस घटनामा महत्त्वपूर्ण संरचनासहित दुवै सहर ध्वस्त भएका थिए।परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले विश्वका शक्तिशाली भनिएका मुलुकले मानवताविरुद्ध कस्तासम्म कार्य गर्न सक्दा रहेछन् भन्ने उदाहरणका रूपमा हिरोसिमा र नागासाकी घटनालाई लिन सकिने बताए। भगवान् गौतमबुद्धको जन्मदेश हुनुका नाताले नेपालले शान्तिपूर्ण कूटनीतिको नेतृत्व गर्दै लुम्बिनीमा त्यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिए। 

नेकपा(एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले हिरोसिमा र नागासाकी घटनालाई शक्तिको उन्मादसँग जोडिएको इतिहास भएको टिप्पणी गरे। आयोजक संस्था नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपासुर शेर्पाले एसियाका तारा गौतमबुद्धको जन्मथलो भएको मुलुक नेपालले विश्वमञ्चमा आणविक हातहतियारका उत्पादन र प्रयोगविरुद्ध तथा जहिले पनि शान्तिका पक्षमा वकालत गर्दै आएको बताए। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति डा विष्णुविभु घिमिरेले लार्खौं मानिसलाई पलभरमै एकै चिहान बनाएको उक्त घटनाले अध्यात्मप्रति विश्वास राख्नेका लागि पनि ईश्वर छ कि छैन भन्ने प्रश्न उब्जाएको धारणा राखे। 

प्रा डा कमलकृष्ण श्रेष्ठले परमाणु युद्धले कहिल्यै कसैले जित्न नसक्ने भएकाले शक्ति राष्ट्रलाई यसमा समय र पैसाको बरबादी नगर्न सुझाव दिए। संस्थाका महासचिव प्रा डा गोपाल पोखरेलले हिरोसिमा र नागासाकी घटनाले आणविक हतियाले क्षणभरमै ठुलो मानवीयविनाको खतरा र तहसनहसको पुस्ट्याइँ गरेकाले त्यसबाट विश्व समुदाय अलग्गिनु बुद्धिमानी हुने धारणा राखे । 

कार्यक्रममा उपप्राध्यापक फूर्वा तेन्जिङ शेर्पाले  हिरोसिमा र नागासाकी घटनालाई शान्तिकामी निर्देशन जनतामाथि बराबरतापूर्ण आक्रमणको संज्ञा दिए। विश्वका नौ देशमा १२ हजार ४०० को सङ्ख्यामा रहेको आणविक हतियारले शान्तिका पक्षपाती जनतालाई चुनौती खडा गरिरहेकाले सुरक्षा नष्ट गर्नु आजको प्राथमिक कार्यभार भएको उनको भनाइ थियो। नेपालले विश्वमा सबै खाले लडाई र झगडा अन्त्य गर्न आह्वान गर्दै विश्वशान्तिका लागि आवाज बुलन्द गर्नुपर्नेमा कार्यक्रममा सहभागी अन्य वक्ताको भनाइ थियो।

प्रकाशित: २३ श्रावण २०८२ ०८:१७ शुक्रबार