नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद अदालतको बाटोबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टीद्वारा आयोजित ‘ग्रिन रन’ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति शर्माले संस्थापन इतर पक्षका नेताहरूलाई कानुनी लडाइँ छाडेर वार्ताको टेबुलमा आउन आह्वान गरेका हुन्।
मुद्दा-मामिलाको बाटो संविधान र कानुनले दिएको भए पनि त्यसले पार्टीको समस्या समाधान नगर्ने उनको भनाइ छ। कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए।
आगामी असोजमा पार्टीको महाधिवेशन हुन लागेको जानकारी दिँदै उपसभापति शर्माले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए। विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर रहने प्रकृतिको नभएको समेत उनले बताए।
‘अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरी पार्टीलाई एकताबद्ध बनाएर लैजानुछ,’ उपसभापति शर्माले भने, ‘यो विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन, असोज महिनामा महाधिवेशन हुँदै छ। कसले आएर सभापति बन्न चाहनुहुन्छ, को उपसभापति वा महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ। हामी त्यही कुराका लागि अपिल गर्न चाहन्छौं।’
प्रकाशित: ६ भाद्र २०८३ १४:५७ शनिबार