प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण विकास सहयोग, ऊर्जा र पूर्वाधारमा ठोस घोषणासहित सकिएको छ। सीमा विवाद, व्यापार घाटा, प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) को प्रतिवेदनजस्ता राजनीतिक रूपमा संवेदनशील विषय भने संयुक्त वक्तव्यमा समेटिएनन्।
विज्ञहरूले भ्रमणलाई सकारात्मक भने पनि अप्ठेरा विषय पन्छाइएको टिप्पणी गरेका छन्। भ्रमणको अन्त्यमा दुई सरकारले २४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्।
विज्ञहरूले भ्रमण फलदायी भए पनि दुई तिहाइ बहुमत नजिकको सरकारका प्रधानमन्त्रीले महत्त्वपूर्ण विषय उठाउन नसकेको प्रतिक्रिया दिएका छन्।
परराष्ट्रविद् राजन भट्टराईले भ्रमणका क्रममा नीतिगत सहमति र पुराना सहमति अघि बढाइनुलाई सकारात्मक मानेका छन् तर कार्यान्वयनमा विगतमा झैं ढिलाइ हुन नहुने उनको जोड छ।
हवाई मार्गमा सकारात्मक कदम भए पनि भारतले आकाश प्रयोगको अनुमति दिनुपर्ने र जुनसुकै जहाजलाई भैरहवामा अवतरण गर्न दिनुपर्ने उनको भनाइ छ। पञ्चेश्वर परियोजनाको भाषा पुरानै भएको भन्दै उनले कार्यान्वयन तहमै प्रश्न उठाए। ‘दुई तिहाइको सरकारले’ सीमा विषयमा स्पष्ट अडान राख्नुपर्थ्याे भन्ने उनको टिप्पणी छ। जलस्रोतको अवरोध र अलैँची, अदुवा र चियाको निर्यातमा गैरभन्सार अवरोध सम्बोधन नभएको उनको गुनासो छ।
नेपालको जलविद्युत् विकास र विद्युत् व्यापारमा भारतले मुख्यतया चिनियाँ संलग्नता भएका आयोजनाको बिजुली नकिन्ने नीति, प्रसारण लाइन तथा तेस्रो मुलुक (बंगलादेश) निर्यातमा अवरोध र ठुला आयोजनाहरू वर्षौंसम्म ‘होल्ड’ गर्नेजस्ता विषयमा झमेला (लफडा) गर्ने गरेको नेपाली पक्षको गुनासो रहँदै आएको विषय हो।
त्यस्तै अलैंची, अदुवा र चियाको निर्यातमा देखिने गैरभन्सार अवरोध नेपालको व्यापार क्षेत्रमा वर्षौंदेखि निरन्तर उठ्दै आएको एक प्रमुख र गम्भीर विषय हो।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले पेट्रोलियम पाइपलाइन, रेल र एकीकृत चौकी जस्ता पुराना योजनाले निरन्तरता पाएको तर राजनीतिक तहमा उठाउनुपर्ने विषय भने नउठाइएको प्रतिक्रिया दिए।
१९५० को सन्धिबारे इपिजीको प्रतिवेदन, कालापानी र सुस्ता विवादबारे भ्रमणमा कुरा हुनुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले उपलब्धि मानिएको हवाईमार्गको मोडालिटी हेर्न बाँकी रहेको बताए।
पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भ्रमणका क्रममा तल्लो अरुणको शिलान्यास र चालु आयोजनाको उद्घाटनले सकारात्मक सन्देश दिएको बताए तर भैरहवा हवाईमार्गको उचाइ, फ्रिक्वेन्सी र जहाजको प्रकार स्पष्ट हुनुपर्ने उनको माग छ। भारतको सर्त के हो भन्ने पनि खुल्नुपर्ने उनको भनाइ छ।
परराष्ट्रविद् दिनेश भट्टराईले आइआइटी क्याम्पस र आर्थिक सहयोगलाई स्वागतयोग्य भनेका छन्। भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले भने आर्थिक सहायताको घोषणा सकारात्मक भए पनि उद्घाटन र शिलान्यास धेरै पहिलेकै निरन्तरता भएको प्रतिक्रिया दिए। उनले भ्रमणले सम्भावनाअनुसार उपलब्धि दिन नसकेको टिप्पणी पनि गरे।
प्रकाशित: ८ मंसिर २०८३ ०९:३३ मंगलबार

-600x400.jpg)

