राजनीति

जेन-जीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने माग हाम्रो पनि हुन: पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा रामवरण यादवले जेन-जीले उठाएका भ्रष्टाचार नियन्त्रण गर्ने माग सबै नेपालीको भएको बताएका छन् । शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यादवले जेन-जीले उठाएका माग जायज भएपनि भदौ २३ र २४ गते मुलुकमा भएको विध्वंशको कारण र उद्देश्य खोज्नुपर्ने उल्लेख गरेका छन् ।  

विज्ञप्तिमा पूर्वराष्ट्रपतिले भनेका छन्,  ‘युवाहरूको आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन-व्यवस्था अर्थात् 'सुशासन' जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागलाई थियो । तिनले उठाएको माग हामी जो-कोहीका अभिष्ट हुन् । तर, आन्दोलनका नाममा त्यस दिन र भोलिपल्टसमेत मुलुकमा जुन तहको विनाश र विध्वंश मच्चाइयो, त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अति जरुरी छ ।’

पूर्वराष्ट्रपति यादवले २०६२/०६३ को जनआन्दोलन, नेपालको संविधान २०७२ द्वारा सिर्जित र स्थापित शासन-पद्धतिलाई धुलिसात् पार्ने प्रयास भएको तथ्यलाई पनि सबैले ध्यान दिनुपर्ने सुझाएका छन् ।  

आन्दोलनपछि सिर्जित राजनीतिक-प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोऱ्याउन जिम्मेवार निकाय र पदाधिकारीले थप विलम्ब गर्न नहुने सुझाव यादवको छ।

प्रकाशित: २७ भाद्र २०८२ १४:४६ शुक्रबार