विपक्षी नेकपा एमालेले जनताको विश्वास र भरोससहित आफ्नो पार्टी पुनः मुलुकको शासन सत्तामा पुग्ने दाबी गरेको छ। अघिल्लो वर्ष भएको जेनजी विद्रोहसँगै सत्ता राजनीतिबाट पाखा परेको एमालेले पार्टीको संगठन सुधार गर्दै पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेको हो।
जेनजी विद्रोहसँगै पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापनमा लामो समय खर्चेको एमालेले बुधबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना सुरु गरेको छ। भेलामार्फत पार्टी एकताको सन्देश प्रवाह भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने बताए।
भेलाको उद्घाटन गर्दै उनले आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा गएको र पुनः सरकारमा जाने बताए। पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरणसँगै वर्तमान सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पनि निर्देशन दिए।
‘हामी कसैको कृपाले नभई नेपाली जनताको कृपाले गएका थियौं,’ ओलीले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा एमाले सरकारमा गएको होइन। एमाले फेरि सरकारमा जान्छ। कान खोलेर सुने हुन्छ ।’ पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसहित देशभरिका ३४ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीले सुरु गरेका विकासका अधुरा कामलाई फेरि अघि बढाउने दाबी गरे। सरकार प्रतिशोधको राजनीतिमा लागेको बताउँदै ओलीले त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए। ‘आन्दोलन लागि तयार भएर बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ उनले भने, ‘यो तिथिविधि मान्ने, संविधान मान्ने, कानुन मान्ने, मर्यादाभित्र बस्ने सरकार होइन।’
सरकारविरुद्ध निकै आक्रामक बनेका ओलीले सरकारविरुद्ध सडकमा उत्रने चेतावनी पनि दिए। ‘एमाले चुप लागेर बस्नेछैन। त्यसबेला (ओली गिरफ्तार हुँदा) संख्या केही हजारका दरले निस्कियो होला, अब लाखका हिसाबले निस्कन्छ,’ ओलीले भने।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा भइरहेका भेला बिहीबार स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणसहितका विषयमा छलफल गर्दै सकिनेछ। भेलामा केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश, जिल्ला र पालिका कमिटीका प्रमुख तथा उपप्रमुख, जनसंगठनका प्रतिनिधि र संघीय तथा प्रदेश सांसदसहित कुल तीन हजार ४१४ जनाको सहभागिता छ।
प्रदेशदेखि टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिनेछ। यसअन्तर्गत घरदैलो, डिजिटल प्रचार, स्वयंसेवक परिचालन, स्रोत व्यवस्थापन, कानुनी तथा सुरक्षा, मतदान र मतगणना व्यवस्थापनलगायत उपसमिति बन्नेछन्। प्रत्येक पालिका र वडामा निर्वाचन कार्यालय स्थापना गरी मतदाता विवरण, प्रचार सामग्री र स्वयंसेवक व्यवस्थापन गरिनेछ ।
भेलामा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सरकारमा रहँदा गरेका कामको १८ पृष्ठ लामो उपलब्धि विवरण प्रस्तुत गरे। पौडेलले प्रस्तुत गरेको कार्यपत्रमा संवैधानिक विकास, आर्थिक–सामाजिक रूपान्तरण, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रगतिलाई पार्टीका उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
दस्ताबेजअनुसार २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ भदौ २४ सम्म एमाले अल्पमतको सरकारमा करिब नौ महिना, बहुमतको सरकारमा करिब तीन वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्वमा तीन वर्ष ६ महिना र अरू दलको नेतृत्वमा बनेका सरकारमा करिब पाँच वर्ष सहभागी भएको थियो। एमालेले आफू सरकारमा रहेको अवधिका कामको मात्र जिम्मेवारी लिने स्पष्ट पारेको छ ।
एमालेले २०५२ मा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको दाबी गरेको छ। मानव विकास सूचकांक ०.४३७ बाट ०.६०२ र प्रतिव्यक्ति आय २०० डलरबाट एक हजार ५३५ डलर पुगेको उल्लेख छ। कुल गार्हस्थ्य उत्पादन एक खर्ब २० अर्बबाट ६६ खर्ब, वार्षिक बजेट ३१ अर्ब ५५ करोडबाट २१ खर्ब २४ अर्ब र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको तथ्यांक पनि प्रस्तुत गरिएको छ।
मासिक १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगी ३६ लाख नागरिक लाभान्वित भएको दस्ताबेजमा उल्लेख छ। सामाजिक सुरक्षा कोषमा ३१ लाख श्रमिक जोडिएको, साक्षरता दर ३९.६ बाट ७६.२ प्रतिशत र औसत आयु ५५ बाट ७२ वर्ष पुगेको तथा स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको पनि एमालेको दाबी छ ।
सडक सञ्जाल आठ हजार ३२८ किलोमिटरबाट एक लाख १० हजार किलोमिटर पुगेको, विद्युत् जडित क्षमता २२७ मेगावाटबाट चार हजार १२० मेगावाट र विद्युत् पहुँच १० बाट ९९ प्रतिशतमा पुगेको दस्ताबेजमा उल्लेख छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विभिन्न सुरुङमार्ग, रेल सेवा, पेट्रोलियम पाइपलाइन तथा सडक र झोलुंग पुल निर्माणलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
प्रकाशित: ३ मंसिर २०८३ ११:२५ बिहीबार

-600x400.jpg)

