राजनीति

राज्यको मेरुदण्ड भाँच्ने गरी गम्भीर षड्यन्त्र भयो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकार हटाएर मुलुकलाई नियोजित रूपमा अस्थिरतातर्फ धकेलिएको आरोप लगाएका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यको मेरुदण्ड भाँच्ने गरी गम्भीर षड्यन्त्र भएको दाबी गरे।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएको घटनाको निन्दा गरे। उनले भने, ‘आन्दोलन र क्रान्तिका नाममा हिंसा भड्काउने, तोडफोड गर्ने र लुटपाट मच्चाउने कार्य हामीलाई स्वीकार्य छैन।’

उनले ती घटनामा सुरक्षाकर्मीबाट हतियार खोसिएको, पार्टी कार्यालयहरू जलाइएको र निजी सम्पत्ति लुटपाट गरि महाविनाश मच्याइएको बताए। 

‘महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइए जस्तै गरी एमाले र मुलुकलाई सिध्याउने षड्यन्त्र रचियो,’ ओलीले भने।

उनले अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको र असंवैधानिक बाटोबाट सरकार बनाइएको भन्दै आपत्ति जनाए।

‘जनताले चुनेका प्रतिनिधिहरूको थलो (संसद) विघटन गरेर जनतालाई नै राजनीतिभन्दा बाहिर धकेल्ने काम लोकतन्त्रका लागि हितकर हुँदैन,’ ओलीले भने, ‘त्यसैले हाम्रो माग स्पष्ट छ प्रतिनिधि सभा तुरुन्त पुनर्स्थापना होस् र देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस्।’

ओलीले आफूले कामचलाउ प्रधानमन्त्रीको हैसियतले संवैधानिक निकासको बाटो देखाएको भए पनि देशलाई उल्टो दिशामा लगिएको जिकिर गरे।

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगमाथि एकसाथ आक्रमण गरेर दलीय व्यवस्थाको आधार स्तम्भ नै हल्लाउन खोजिएको बताए।

फागुन २१ गते चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश भए पनि षड्यन्त्रकारीहरूले देशलाई अन्योलमा राखेको उनको भनाइ थियो।

‘हामीले संविधान जारी गर्यौं, नाकाबन्दी झेल्यौं र विकासको बाटो देखायौं, तर अपराधीहरूको षड्यन्त्रलाई पराजित गर्न अझै संघर्ष गर्नुपर्नेछ,’ उनले भने।

प्रकाशित: २७ मंसिर २०८२ १५:०४ शनिबार