राजनीति

बालेन सरकारबाट देश चल्दैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट देश चल्न नसक्ने दाबी गर्दै देश र जनताको बुद्धिमा नै ग्रहण लागेको जस्तो अवस्था आएको टिप्पणी गरेका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार बन्नु देशकै लागि दुर्भाग्यपूर्ण भएको बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘कस्तो सरकार छ, यस्तो सरकारबाट देश चल्नेवाला छैन। यो देशलाई नै ग्रहण लागेको हो। नेपाली जनताको बुद्धिमा ग्रहण लागेर यस्तो सरकार बनेको हो।’

उनले विगतमा भएका कमजोरीलाई सच्याउन अब सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

एमाले सामाजिक न्याय र समानताको पक्षधर पार्टी भएको दाबी गर्दै उनले जनजाति, आदिवासी, दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकार र उत्थानका लागि एमालेले नै नीति तथा कार्यक्रमहरू बनाएको सुनाए।

अध्यक्ष ओलीले आफूहरूको पालामा अघि बढाइएका विकास निर्माणका कामहरू देखाएर वर्तमान सरकारले जस लिन खोजेको भन्दै आक्रोश व्यक्त गरे।

पूर्व-पश्चिम राजमार्ग तथा पुल निर्माणजस्ता पूर्वाधारलाई देखाउँदै अहिलेको सरकार आउनेबित्तिकै बनेको भनेर प्रचार गरिनु बेइमानीको पराकाष्ठा भएको उनको भनाइ थियो।

‘हामीले बनाएका नीतिभन्दा पृथक् कसैले नीति बनाउन सकेको छैन,’ ओलीले भने, ‘देश तिनै नीतिमा चलाउने, अनि अहिलेको सरकार आउनेबित्तिकै बाटो र पुल बनेको भनेर प्रचार गर्ने ? बेइमानीको पनि हद हुन्छ।’

प्रकाशित: ३१ श्रावण २०८३ १५:५० आइतबार