राजनीति

देश फेसबुकको भ्युजले चल्दैन, आधिकारिक अंगबाट चल्छ : एमाले सांसद घतानी

नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन निजी फेसबुक पेजबाट प्रसारण गरिएको भन्दै आपत्ती जनाएकी छिन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश फेसबुकको भ्युजबाट नभई राज्यका आधिकारिक अंगबाट चल्ने बताइन्।

उनले राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउने खेलमा प्रधानमन्त्री लाग्नु दुःखद रहेको बताइन्।

‘देश फेसबुकको भ्युजले चल्दैन। राष्ट्रकै नाममा गरिने सम्बोधन फेसबुकतिर होइन, आधिकारिक सञ्चारमाध्यमबाट आउनुपर्छ,’ उनले भनिन्, ‘राष्ट्रलाई सम्बोधन गरेको हो कि आफ्नो फेसबुक पेजको मोनिटाइजेसनलाई बलियो बनाएको ?’

यस्तै उनले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिमा स्पष्ट पार्न माग गरिन्।

यस्तै, उनले बजारमा ग्यासको अभाव र महङ्गीले सीमा नाघेको बताउँदै किसानले मल र उत्पादनको उचित मूल्य नपाएको, गरिब नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाइरहँदा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार असफल भएको आरोप लगाइन्।

प्रकाशित: २५ श्रावण २०८३ १४:१४ सोमबार