राजनीति

आफ्नै घरमा आगो लगाउने र लुटपाट गर्नेहरूका कारण देश बदनाम भयो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका अराजक गतिविधिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शनिबार पार्टी कार्यालयमा ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले अहिले विदेशमा नेपाली पासपोर्ट देखाउँदा र नेपाली भनेर परिचय दिँदा समेत लज्जित हुनुपर्ने अवस्था आएको टिप्पणी गरे।

उनले भने, ‘विदेशमा हाम्रो पासपोर्ट देखाउन नहुने भइसक्यो, नेपाली भन्न नहुने भइसक्यो। नेपाली भन्दा ‘आफ्नै घरमा आगो लाउनेहरू, आफ्नै देश जलाउनेहरू होइनौं तिमीहरू ?’ भनेर प्रश्न गर्छन्।‘

नेपालमा भएका लुटपाट र आगजनीका फुटेज हेरेर विदेशीहरूले नेपालीहरूप्रति नकारात्मक धारणा बनाउन थालेको उनले बताए।

‘हाम्रा फुटेजहरू हेरेर भन्छन्- तिमीहरू त अर्काको पसल लुट्दा रहेछौं, अँगालोभरि सामान लिएर भाग्दा रहेछौं, अर्काको घर जलाउँदा रहेछौं,’ ओलीले भने।

यस्ता गतिविधिहरूकै कारण धेरै देशहरूले नेपालीलाई भिसा दिन समेत रोकेको दाबी गर्दै उनले प्रश्न गरे, ‘आफ्नै घरमा आगो लगाउने र आफ्नै दाजुभाइ मार्नेले के गर्छौ तिमीहरू ?’

अध्यक्ष ओलीले अराजक गतिविधिबाट देश बदनाम भइरहेको भन्दै यसबाट जोगिएर देशको प्रतिष्ठालाई पुनः माथि उठाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २० मंसिर २०८२ १६:३१ शनिबार