राजनीति

उपभोक्ता समिति दलका भर्ती केन्द्र बने: भट्टराई

सत्तासीन दल नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले उपभोक्ता समितिहरू दलका भर्ती केन्द्र बन्ने गरेको बताएका छन्। संसद्को सार्वजनिक लेखा समितिको बिहीबार (आज) बसेको बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन्।

उनले अब उपभोक्ता समितिमार्फत काम नगर्ने प्रस्तावसमेत गरेका छन्। ‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्य-कर्ताहरूलाई बिगार्ने काम भएको छ। अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन। उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनुपर्छ,’ उनले भनेका छन्।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा राम्रो हुने गरे पनि अहिले अवस्था उल्टो रहेको उनले बताए। ‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो। तर, अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन्। उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र भएका छन्। यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुनेगरी गुटबन्दी भइरहेको छ,’ उनले भनेका छन्।

प्रकाशित: २६ असार २०८२ १५:५२ बिहीबार