नेकपा एमालेको जारी विधान महाधिवेशनमा राष्ट्रपतिको राजनीतिक यात्राको विषयलाई सुझावका रुपमा प्रस्तुत गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेसँगै उठेको बहसको विषय रोक्दा रोक्दै पनि विधान महाधिवेशनमा प्रवेश पाएको छ ।
पार्टीको केन्द्रीय तथा सचिवालय कमिटीबाट पनि पूर्वराष्ट्रपतिको राजनीतिक यात्राको विषय विधान महाधिवेशनमा नउठाउने निर्णय भए पनि छलफलका क्रममा नेताहरूले यो विषय उठाएका छन् ।
नेताहरूले पार्टीको विधानमा मात्र नभइ देशकै विधान संविधानमा पनि यो विषय खुलाउन माग गरेका छन् ।
एमालेको कोशी प्रदेशका अध्यक्ष तथा महाधिवेशनमा छलफलरत समूहको नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे । उनले स्वागतसँगै आफ्नो तर्क संवैधानिक व्यवस्थासम्ममा जानुपर्ने राखे । खतिवडाले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकालाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनु पर्दछ ।’
प्रकाशित: २२ भाद्र २०८२ १५:३७ आइतबार