नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन्।
आज यहाँस्थित सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औं दिनको स्मृतिमा आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान बहुलवादमा आधारित रहेकाले बदलिंदो समयको माग अनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गरे।
उनले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित छ। संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन्। राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नुपर्छ भन्ने धारणा छ। त्यसैले आवश्यकता अनुसार संविधान संशोधन हुन्छ।’
सभापति देउवाले देशमा चुनावका बेला नेपाल कम्युनिस्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहार र तहमा सबै प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको जानकारी गराए। सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय शास्त्रीको कांग्रेस पार्टी, देश र नागरिकका लागि निकै उल्लेख्य योगदान भएको भन्दै सभापति देउवाले उनको प्रशंसा समेत गरे।
त्यसैगरी कार्यक्रममा राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले अध्यक्ष स्व. शास्त्रीले गरेका योगदानहरूको स्मरण गर्दै उनको खुलेर प्रशंसा गरेका थिए। शास्त्रीले जीवनभर कांग्रेसको सुदृढीकरण, लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदान उल्लेखनीय रहेको उनीहरूको भनाइ थियो।
प्रकाशित: ९ श्रावण २०८२ १८:३० शुक्रबार