राजनीति

संविधानले राज्य शक्तिको मूल स्रोत जनता हुन् भन्ने सिद्धान्त स्थापित गरेको छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति त्यसका अक्षरमा मात्र सीमित नभई नागरिकको जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन्। 

संविधान दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री गौतमले असोज ३ गते नेपाली जनताले आफ्नो शासन व्यवस्था आफैँ निर्धारण गरेको ऐतिहासिक दिन भएको बताउँदै संविधानले राज्य शक्तिको मूल स्रोत जनता हुन् भन्ने सिद्धान्त स्थापित गरेको उल्लेख गरिन्। 

‘पुस्तौँको संघर्ष, बलिदान र परिवर्तनको आकांक्षापछि संविधानसभाबाट बनेको हाम्रो संविधानले राज्य शक्तिको मूल स्रोत शासक होइनन्, जनता हुन् र राज्यको शक्ति संविधान र कानुनको सीमाभित्र प्रयोग हुनुपर्छ भन्ने मूल सिद्धान्त बोकेको छ,’ उनले भनिन्। 

संविधानले नागरिकलाई अधिकार, राज्यलाई जिम्मेवारी र शासनलाई सीमाभित्र बाँध्ने व्यवस्था गरेको छ। समानता, स्वतन्त्रता, न्याय, सम्मान र सहभागिताको अधिकार प्रत्येक नागरिकले व्यवहारमै अनुभूति गर्न पाउनुपर्ने संविधानको मर्म रहेको उनले बताइन्। 

मन्त्री गौतमले संविधानको वास्तविक अर्थ नागरिक अधिकार सम्पन्न हुनु, राज्य जवाफदेही हुनु र कानुन सबैका लागि समान रूपमा लागू हुनु रहेको बताउँदै न्यायपूर्ण, समावेशी र समृद्ध समाज निर्माण गर्ने आधार हुनुको साथै संविधानका मूल्य र नागरिकका अधिकारलाई अझ बलियो बनाउनु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ। 

‘संविधानको शक्ति यसका अक्षरहरूमा मात्र सीमित हुनु हुँदैन। नागरिकको जीवनमा ल्याउने परिवर्तन संविधानसँग जोडिएको हुनुपर्छ। नागरिकहरूले परिवर्तन व्यवहारमा देख्न पाउनुपर्छ,’ मन्त्री गौतमले भनिन्। 

प्रकाशित: ३ आश्विन २०८३ ११:२३ शनिबार