राजनीति

जेन-जी विद्रोह पछिको संकट चिर्दै चुनाव सम्पन्न हुनु ऐतिहासिक उपलब्धि: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी विद्रोह पछिको राजनीतिक शून्यता र सुरक्षा संवेदनशीलताबीच तोकिएकै समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुनु देशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

बुधबार निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको अवसरमा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विषम परिस्थितिलाई सामान्यीकरण गर्दै चुनाव गराउनु सहज नरहेको स्मरण गरिन्।

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि देशले जटिल परिस्थितिको सामना गर्नुपरेको उनले बताइन्।

‘वर्तमान सरकार गठन हुँदा हतियार खोसिएका थिए, दलहरूबीच संवादहीनता थियो र एक प्रकारको कानुनी तथा राजनीतिक शून्यता थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस्तो संवेदनशील अवस्थामा ६ महिनाभित्रै चुनाव गराएर देशलाई संविधानको ट्रयाकमा ल्याउनु हाम्रो प्रमुख दायित्व थियो।’

सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेर फागुन २१ गते स्वच्छ र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सरकार सफल भएको उनले सुनाइन्।

यस सफलताका लागि उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको कुशल नेतृत्व र सुरक्षा निकायको भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण देशवासीका तर्फबाट सलाम गरिन्।

यसपटकको निर्वाचनले नेपालमा सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा एउटा नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको भनाइ छ।

निर्वाचन घोषणापछि पनि मतदाता नामावली दर्ता खुला राखेर ठूलो संख्यामा युवालाई समेटिएको र राष्ट्रिय परिचयपत्रसँग डाटा आबद्ध गरी प्रक्रिया सहज बनाइएको उनले जानकारी दिइन्।

निर्वाचनमा स्वदेशी तथा मौज्दात सामग्रीको अधिकतम प्रयोग गरी मितव्ययिता अपनाइएको, छुट्टै बैंक खाताबाट खर्चको पारदर्शिता कायम गरिएको र सामाजिक सञ्जालको निगरानीमार्फत आचारसंहिताको कडा पालना गराइएको प्रधानमन्त्रीले स्पष्ट पारिन्।

सुदृढ सुरक्षा व्यवस्थाकै कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको उनले उल्लेख गरिन्।

यस निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको बताउँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो चुनावले अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको लोकतान्त्रिक छवि अझ उज्यालो बनाएको छ।’

उनले नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा पनि यस्तै मानक कायम राख्न सके लोकतन्त्र थप सुसंस्कृत र समृद्ध हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित: ११ चैत्र २०८२ १६:०४ बुधबार